उखु किसानको आन्दोलन जारी, ७० रुपैयाँ अनुदानको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
647
Shares
काठमाडौं । सरकारले तोकेको अनुदान रकम नपाएको भन्दै उखु किसानले काठमाडौंको माइतीघरमा आइतबारदेखि सुरु गरेको आन्दोलनलाई बुधबार पनि निरन्तरता दिएका छन्।
उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायका अनुसार उनीहरूको मुख्य माग आर्थिक वर्ष २०८१/८२ मा सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान भुक्तानी हो। गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ६५५ रुपैयाँ तोकेको थियो, जसमध्ये उद्योगले ५८५ रुपैयाँ र सरकारले ७० रुपैयाँ दिने सहमति भएको थियो। तर, सरकारले उक्त अनुदान रकम उपलब्ध नगराएपछि किसान आन्दोलित भएका हुन्।
सरकारले आर्थिक अभाव देखाउँदै प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको छ। यसका लागि अर्थ मन्त्रालयले मंगलबार ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरे पनि किसानहरूले उक्त रकममा चित्त बुझाएका छैनन्। अध्यक्ष रायले आफूहरूलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान रकम निकासा हुनुपर्ने माग गरेका छन्।
उनले अनुदान रकम घटाउने गरी सरकारसँग वार्तामा नबस्ने स्पष्ट पारेका छन्। यता, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानसँग वार्ता गर्नका लागि कृषि विभागका उपमहानिर्देशकको नेतृत्वमा एक समिति गठन गरेका छन्।
अध्यक्ष रायका अनुसार, अहिलेको आन्दोलन भदौ १५ गतेसम्म जारी रहनेछ। उक्त समयसम्म पनि माग पूरा नभए महासंघको बैठक बसेर दोस्रो चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले बताए। आन्दोलनमा किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।