arrow

आफ्ना नेताहरूलाई संगठन निर्माणमा जुट्न प्रचण्डको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
puspakamal-dahal-prachanda-05-16.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।

सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे ।

उनले पार्टीले पछिल्लो समय जनतामाँझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए ।

भर्चुअल बैठकमा सहभागी हुनको कारण स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍याे । दशैँपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु ।’

अध्यक्षले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । 

उनले निर्देशन दिँदै भने, ‘अब सबै नेता-कार्यकर्ताले गाउँ-बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ ।’
उनले पार्टीभित्र आत्मसमीक्षा र आलोचना-आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै हरेक कमरेडले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धि, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए ।

अध्यक्ष प्रचण्डले सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश बताउँदै, त्यहाँका नेता तथा कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध, केन्द्रित र परिचालित गर्ने आवश्यकता औँल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ