महोत्तरीमा ढिलो गरी धान रोपाइँ, ७६ प्रतिशत सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
540
Shares
जलेश्वर। यस वर्ष समयमै पानी नपरेका कारण ढिलो गरी धान रोपाइँ सुरु गरेका महोत्तरीका किसानहरू अझै पनि रोपाइँमा व्यस्त छन्। जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका-८ मा किसानहरू ठूलो संख्यामा रोपाहार लगाएर रोपाइँ गरिरहेको देखिएको छ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दरायका अनुसार, साउन १५ गतेपछि मात्र पानी पर्न सुरु भएपछि यहाँका किसानले रोपाइँ सुरु गरेका थिए। हालसम्म जिल्लाको करिब ७६ प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भइसकेको छ।
यस वर्ष अधिकांश किसानले बासमती धान लगाएका छन्, किनभने यो जातको धानलाई कम सिँचाइ भए पनि राम्रो उत्पादन दिन्छ। महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गामध्ये ६४ हजार ९७७ हेक्टरमा खेती हुँदै आएको छ। यस वर्ष करिब ४० हजार हेक्टरमा धानखेती हुने अनुमान गरिएको छ।
गत वर्ष समयमै पानी परेकाले ४२ हजार ५०० हेक्टरमा धानखेती गरिएको थियो र १ लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो। तर, यस वर्ष सिँचाइको अभावका कारण उत्पादनमा केही कमी आउन सक्ने अनुमान गरिएको प्रमुख रायले बताए। उत्तरी र पश्चिमी क्षेत्रका किसानहरूले भने मोटर, डिजेल पम्प र अन्य स्रोतहरूको प्रयोग गरी पहिले नै केही मात्रामा रोपाइँ गरेका थिए।