वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही गर्न सक्दैन : प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
457
Shares
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने आरोप लगाएका छन्। बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यो सरकार भ्रष्ट र दलालहरूको गठबन्धनले बनाएको बताए।
प्रचण्डले यो सरकार भ्रष्ट र विचौलियाहरूले आफ्नै अनुकूल काम गराउनका लागि बनाएको दाबी गरे। उनले भने, "सत्तारुढ काँग्रेस-एमाले गठबन्धन नेताहरूले बनाएको होइन, मलाई थाहा छ–त्यो विचौलिया, दलालहरूले उनीहरूको घरमा, उनीहरूको होटलमा लगेर उनीहरूको इच्छाअनुसार बनेको सरकार हो।"
उनले सरकारले राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कुलमान घिसिङ जस्ता व्यक्तिहरूलाई हटाउन खोजेको आरोप लगाए। उनले थपे, "छानी-छानी जनजाति हटाउने, छानी-छानी राम्रो काम गर्ने मान्छे हटाउने। अनि आफूलाई फाइदा हुनेगरी विचौलिया र दलालले भनेजस्ता मान्छे भर्ती गर्ने।"
अध्यक्ष दाहालले आफूले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको पनि दोहोर्याए। उनले मुलुकलाई सही बाटोमा लैजान प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए। उनले संविधानमाथि घात हुने खतरा अझै टरिसकेको छैन भन्ने कुरा पनि उल्लेख गरे।