चाडपर्वमा बजार अनुगमन र सेवा प्रवाहमा कडाइ गर्ने सरकारको निर्णय
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
457
Shares
काठमाडौँ। चाडपर्वको समयमा उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारले बजार अनुगमन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने भएको छ। आइतबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले यो निर्णय गरेको हो।
बजार अनुगमन र आपूर्ति: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ। साथै, वाणिज्य विभागले गुनासो सुन्नका लागि टोल फ्री नम्बर सञ्चालन गर्नेछ। खाद्य प्रविधि विभागले खाद्यवस्तुमा मिसावट र गुणस्तरहीन वस्तुको बिक्री वितरण रोक्न मोबाइल भ्यानसहित अनुगमन गर्नेछ।
यातायात व्यवस्थापन: चाडपर्वमा यात्रुको सुरक्षित र व्यवस्थित यात्राका लागि लामो दूरीका सार्वजनिक यातायातको रुट परमिट, भाडादर र सिट क्षमताको आधारमा अनलाइन टिकट बुकिङको व्यवस्था गरिनेछ।
सडक र विपद् व्यवस्थापन: सडक विभागले देशभरका अवरुद्ध राष्ट्रिय राजमार्ग तथा मुख्य सडकहरू आगामी असोज १० गतेभित्र पुनः सञ्चालनमा ल्याउनेछ।
रोग नियन्त्रण: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा चौपायामा फैलिएको लम्पी स्किन लगायतका रोगहरू नियन्त्रण गर्न पहल गर्नेछ।
राजस्व छली नियन्त्रण: आन्तरिक राजस्व विभागले राजस्व छली रोक्न बिलबिजक जारी गर्न कडाइ गर्ने र राजस्व अनुसन्धान विभागले अनौपचारिक कारोबारबाट हुने गैरकानुनी कारोबारमाथि निगरानी बढाउने निर्णय भएको छ।
यी सबै निर्णयको प्रगति पाक्षिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुपर्नेछ। सरकारले नागरिकले प्रत्यक्ष राज्यको उपस्थिति महसुस गर्न सक्ने गरी काम गर्न सबै निकायलाई निर्देशन दिएको छ।