arrow

तीन सय २९ सीए राष्ट्रपतिबाट दीक्षित

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
bhandari-dikshanta.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान जारी भएसँगै राजनीतिक सङ्क्रमणकालको अन्त्य भएकाले अबको बाटो आर्थिक समृद्धि भएको बताएकी छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको प्रथम दीक्षान्त समारोहमा राष्ट्रपति भण्डारीले अबको प्राथमिकता मुलुकको द्रुततर आर्थिक सामाजिक रुपान्तरण भएकामा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रा प्राकृतिक, बौद्धिक, भौतिक साधन स्रोतको अत्यधिक परिचालन र बाह्य पुँजी, सीप र प्रविधिको यथोचित सदुपयोग गर्नु आजको प्रमुख आवश्यकता हो ।’ व्यापार, उद्योगधन्दा, कलकारखाना र वित्तीय संस्थाको विस्तारबाट अर्थतन्त्रको विकास भएसँगै लेखापरीक्षकको जिम्मेवारी र भूमिका अभिवृद्धि हुने बताउँदै भण्डारीले पेसागत कर्तव्यपालना गर्ने क्रममा आउने बाधा र अड्चनलाई संस्थाको आचारसंहितामा रही निष्पक्षताका साथ पूरा गर्न कटिबद्ध रहनुपर्ने सुझाव दिइन् ।

राष्ट्रपति भण्डारीले पेसागत बफादारी, कर्तव्यपरायणता तथा जिम्मेवारी कायम गरी आफ्नो ज्ञान अनुभव सीप र दक्षतानुरुप समुदाय, समाज तथा देशको हितका लागि कार्य गर्न आग्रह गरे । चार्टर्स एकाउन्टेन्ट्सले तयार पारेको आर्थिक प्रतिवेदनबाट बजेटका सामग्री तर्जुमा गर्न निर्णयलाई महत्वपूर्ण सघाउ पुग्ने भएकाले सरकारी तथा निजी क्षेत्रको आर्थिक अनुशासन र पारदर्शिता र उत्तरदायित्वमा एकाउन्टेन्ट्सको भूमिका निकै महत्वपूर्ण हुने बताए ।

लेखा व्यवसायीको कार्यसम्पादनबाट संस्थागत आर्थिक अनुशासन कायम भई विश्वसनीय वित्तीय विवरण तयार भई राष्ट्रको अर्थव्यवस्था मजबुत हुने पनि बताए । लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्न, लगानीको वातावरण बनाउन, राज्यको कर प्रशासनलाई पारदर्शी, चुस्त र परिपक्व बनाउन तथा व्यवसायसँग सम्बन्धित परामर्शका लागि सिएहरुको योगदान अतुलनीय रहनेमा राष्ट्रपतिले विश्वास गरे ।

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले लेखा क्षेत्रमा थप प्रगतिका लागि व्यावसायिक इमान्दारीलाई सदैव ध्यान दिनुपर्ने बताए । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवीप्रसाद शर्माले विश्वव्यापीकरणमा लेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेकाले विश्वसनीय बन्दै लेखा व्यवसायीको गरिमालाई उँचो बनाउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ती सय २९ सिएलाई दीक्षित गरिन् । नेपाल चार्टर्ड एकान्टेन्स संस्थाका अध्यक्ष महेश खानालले मुलुकमै पहिलो पटक भएको दीक्षान्त समारोहले लेखा व्यवसायको गरिमा बढाएको बताए । रासस

Image may contain: 7 people, people smiling, people standing and suit

Image may contain: 1 person



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ