नेपाल एयरलाइन्सले चीनको ग्वाञ्जाओमा सिधा उडान शुरु गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
878
Shares
काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ। यो निगमको लागि काठमाडौं-ग्वाञ्जाओ-काठमाडौं रुटमा पहिलो उडान सेवा हुनेछ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार, उडानका लागि सबै प्राविधिक तयारी पूरा भइसकेको छ र अनुमति पनि प्राप्त भइसकेको छ। निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका बनाएको छ। पहिलो उडान असोज ९ गते हुनेछ भने त्यसपछि असोज १२ गते र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान हुनेछ। यसपछि, प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओको लागि सिधा उडान हुनेछ।
काठमाडौं-ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको छ।
अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताए। यस रुटमा नेपालीहरूको बाहुल्यता रहेकोले निगमलाई आर्थिक रूपमा फाइदा हुने अनुमान गरिएको छ।
हाल काठमाडौँ-ग्वाञ्जाओ गन्तव्यमा चीनको चाइना साउदर्न र नेपालबाट हिमालय एयरलाइन्सले नियमित उडान भर्दै आएका छन्।
ग्वाञ्जाओ उडानसँगै निगमले अब ९ देशका ११ गन्तव्यमा नियमित उडान गर्ने भएको छ। हाल निगमले दोहा, क्वालालम्पुर, दुबई, हङकङ, दिल्ली, मुम्बई, बेङ्गलोर, बैङ्कक, दमाम र नारितामा अन्तर्राष्ट्रिय उडान भरिरहेको छ।
निगमले निकट भविष्यमै दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान शुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ। देशको शान र कूटनीतिक सम्बन्ध विस्तारमा निगमको ऐतिहासिक भूमिका रहेको र यो भूमिका भविष्यमा पनि कायम रहने निगमको विश्वास छ।