arrow

बेमौसमी फूलखेतीबाट वार्षिक १५ लाख आम्दानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
bemausami-fulkheti.jpg

घोराही (दाङ)। घोराही उपमहानगरपालिका–१४, झिङ्गौराका लोकेन्द्र रोकामगर ले व्यावसायिक रूपमा बाह्रै महिना सयपत्री फूलको खेती गर्दै आएका छन्। चाडपर्वमा मात्र नभई बेसिजन याममा पनि उनको बारीमा फूल ढकमक्क फुलेका हुन्छन् र नियमित रूपमा माला बिक्री भइरहेको छ।

लामो समय सात वर्ष कतारमा रोजगारी गरेर फर्केपछि उनले व्यावसायिक फूलखेती सुरु गरेका हुन्। फूलखेतीबाट हुने आम्दानी विदेशको भन्दा राम्रो भएकोले उनी यो व्यवसायमा सन्तुष्ट छन् र अब विदेश नजाने बताउँछन्।

रोकामगरले दसैँ, तिहार र अन्य शुभकार्यका लागि जिल्लामा फूलको माग देखेर यो व्यवसाय थालेका थिए। उनी विगत १३ वर्षदेखि फूलखेती गरिरहेका छन् र यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर खेती गरिरहेको बताउँछन्।

उनको जलजला पुष्प फार्म बाट स्थानीय केही नागरिकले रोजगारी समेत पाएका छन्।

रोकामगरले अहिले फूललाई प्रतिकेजी रु चार सय का दरले र माला एक थानलाई रु एक सय मा बिक्री गर्दै आएका छन्। उनले तयार पार्ने बिहेका विशेष माला रु एक हजारसम्ममा बिक्री हुने गर्छ। माला बनाउनका लागि आवश्यक बिजुलीको फूल समेत उनले उत्पादन गरेका छन्।

उनले जिल्लासहित चितवन र बुटवल मा पनि फूल तथा माला पठाउँदै आएका छन्। उनी वार्षिक रूपमा रु ३५ लाखभन्दा बढीको कारोबार गर्छन्, जसबाट उनलाई वार्षिक रु १० देखि १५ लाख बचत हुने गरेको छ।

पछिल्लो समय जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा मूल्य केही घटेको भए पनि, आमनागरिकले स्थानीयस्तरमै उत्पादित ताजा फूलमाला कम मूल्यमा प्रयोग गर्न पाएकोमा उनी खुसी छन्। उनले प्लास्टिकका मालालाई सरकारीस्तरबाट प्रतिबन्ध लगाए फूल किसानलाई थप राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। यस व्यवसायमा उनलाई परिवारको पनि राम्रो साथ र सहयोग मिलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ