मुटुरोगबाट नेपालमा बर्सेनि ३० हजारको मृत्यु, अल्पायुमा पनि खतरा [भिडियो]
व्यायाम वा हिँडडुललाई जीवन शैलीमा समावेश गर्नु अत्यावश्यक
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
854
Shares
काठमाडौँ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । यो वर्ष विश्व मुटु दिवस २०२५ को नारा ‘डन्ट मिस अ वीट’ रहेको छ ।
मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको बताए । उनले अहिले वर्सेनि मुटुको रोगबाट दुई करोड मानिसहरू मर्ने गरेको उल्लेख गर्दै त्यसमध्येमा ६५ लाख मानिस अल्पायूमै मर्ने गरेको बताए ।
उनले भने, ‘अहिले मुटुको रोग एक नं हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । अहिले वर्सेनि मुटुको रोगबाट दुई करोड मानिस मर्छन् । अब त्यसमध्ये ६५ लाख मानिस त अल्पायूमै मर्छन् । अल्पायू भनेको यो ४० वर्षभन्दा कम उमेरमै मर्छन् मुटुको रोगबाट । ६५ लाखभन्दा बढी मान्छेहरू ।’
यसैगरी नेपालमा ३० हजार मानिस मुटुको रोगबाट मर्ने गरेको उनी बताउँछन् । विकसित राष्ट्रभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको डा.रेग्मीको भनाइ छ ।
‘हाम्रो नेपालमा ३० हजार मानिस मुटुको रोगबाट मर्छन् । मुटुको रोग बढ्ने क्रममा छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् धेरै छ,’ उनी भन्छन्, ‘विकसित राष्ट्रभन्दा मुटुको रोग जुन बढिरहेको छ, यसलाई रोकथाम गर्नका लागि एकदमै जरूरी छ । यो रोकथाम गर्नका लागि मानिस लाई सचेत बनाउन एकदमै जरुरी छ ।’
मुटुरोग विशेषज्ञ डा.रेग्मीका अनुसार मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बनेको छ । डा.रेग्मीका अनुसार, पछिल्लो दुई दशकमा नेपालमा मुटु रोगको उपचार प्रणालीमा उल्लेखनीय सुधार आएको छ । हाल ९५ प्रतिशत मुटु रोगको उपचार नेपालमै सम्भव भएको छ । काठमाडौँलगायत प्रदेश स्तरीय अस्पतालमा समेत उपचार सेवाको पहुँच विस्तार भएको उल्लेख गर्दै उनले भने, ‘पहिले भारत वा बैंकक जानुपर्ने अवस्था थियो । अहिले नेपालमै जटिल शल्यक्रिया गर्न सकिन्छ ।’
तर, रोगको रोकथाम पक्षमा भने अझै गम्भीर कमजोरी रहेको उनले बताए । ‘बच्चाहरूमा देखिने बाथ मुटु रोगलाई रोक्नेतर्फ राज्यको ध्यान पर्याप्त छैन,’ उनले चिन्ता व्यक्त गर्दै भने ।
डा. रेग्मीका अनुसार हाल विश्वभर ३३ प्रतिशत मानिस पूर्णतः शारीरिक रूपमा निस्क्रिय छन् । अर्का ३३ प्रतिशत मानिसको शारीरिक गतिविधि अपुग रहेको छ । यस्तो अवस्था मुटु रोग बढ्नुको प्रमुख कारण हो ।
उनले भने, ‘दैनिक आधा घण्टा हिँड्दा मात्रै पनि मुटु स्वस्थ रहन सक्छ । व्यायाम वा हिँडडुललाई जीवन शैलीमा समावेश गर्नु अत्यावश्यक छ ।’
डा. रेग्मीले सन्तुलित आहार, शारीरिक सक्रियता र धुम्रपान तथा रक्सीबाट टाढा रहने जीवनशैली अपनाएर ८० प्रतिशत मुटु रोग रोक्न सकिने बताए ।
‘हामीले जति सकिन्छ ताजा खानेकुरा खानुपर्छ, पत्रु खाना, बोतलका पेय पदार्थ र चिल्लो पदार्थबाट टाढा रहनुपर्छ,’ उनले भने ।
उच्च रक्तचापलाई ‘मौन हत्यारा’ को संज्ञा दिँदै डा. रेग्मीले भने, ‘नेपालमा उच्च रक्तचाप भएका ८० प्रतिशत मानिस उपचार नै गराइरहेका छैनन् ।’ यस वर्षको मुटु दिवसमा रक्तचाप मापन गर्ने अभियानमा जोड दिन आग्रह गरिएको छ ।
उनले भने, ‘स्वस्थ जीवनशैलीबाट ८० प्रतिशत मुट रोगका कारण ८० प्रतिशत स्वस्थ जीवन शैलीबाट रोक्न सक्छौँ । त्यसैले मिस नगरौँ उच्च रक्तचाप धेरैलाई छ । धेरै मानिसका उच्च रक्तचापबाट मृत्यु भइराखेको छ । तर जति उच्च रक्तचाप भएका रोगीहरू छन्, उनीहरूमध्ये जम्मा २० प्रतिशतले मात्रै उपचार गराइराखेका छन् । ८० प्रतिशतले उपचार मिस गरिरहेका छन् ।’
वातावरणीय प्रदूषण विशेषगरी धुलोका सूक्ष्म कण र माइक्रोप्लास्टिकले मुटुरोगको नयाँ जोखिमका रूपमा पहिचान भइरहेका छन्, ‘श्वासमार्फत शरीरमा प्रवेश गर्ने यस्ता कणहरूले मुटु र मस्तिष्कको रक्त नलीहरूमा ब्लकेज निम्त्याइ हृदयघात गराउने प्रमाण भेटिएको छ,’ उनले भने ।
डा. रेग्मीले सरकारलाई रोकथाममा लगानी बढाउन र आम जनतालाई पनि स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेका छन् । उनले भने, ‘उपचारभन्दा पनि रोकथाममा लगानी गर्दा दीर्घकालीन लाभ हुन्छ । हामीले अब ‘बचेको मुटुलाई’ जोगाउनुपर्छ, बच्नका लागि आफैं सचेत हुनुपर्छ ।’
डा. रेग्मीले काठमाडौँमा मात्रै नभएर अहिले काठमाडौँ बाहिर पनि मुटुको रोग उपचारको विकेन्द्रीकरण भइसकेको बताए । उनले प्रादेशिक अस्पतालमा समेत धेरै अहिले मुटुका डक्टर पुगिसकेको बताए ।
उनले भने, ‘काठमाडौँमा मात्रै नभएर अहिले काठमाडौँ बाहिर पनि मुटुको रोगको उपचारको विकेन्द्रीकरण भएको छ । प्रादेशिक अस्पतालमा धेरै मुटुका डक्टर पुगिसक्नुभएको छ । म के भन्न चाहन्छु भने नेपालमा अहिले झन्डैझन्डै ९५ प्रतिशत मुटुका रोगीको उपचार हुन्छ । केही केही रोगका लागि मात्रै बाहिर जानुपर्ने हुन्छ ।’
प्रदूषणलाई पछिल्लो समय मुटुरोगको नयाँ जोखिम कारकको रूपमा हेरिएको छ । धुलो, प्लास्टिकको कण, ध्वनिको प्रदूषणजस्ता कारणहरूले पनि मुटुको रक्तनलीमा असर पुर्याइरहेको प्रमाणित भइसकेको उनले उल्लेख गरे ।
‘श्वासमार्फत शरीरमा पुगेको धुलो र माइक्रोप्लास्टिकको कणले रक्तनलीमा जमेर हार्ट अट्याक वा मस्तिष्कघात गराउने गरेको पाइएको छ,’ उनले भने ।
डा. रेग्मी भन्छन्, ‘उपचारतर्फ नेपाल अगाडि बढेको छ, तर रोकथाममा ध्यान नदिँदा रोगको ग्राफ बढ्दो छ ।’ उनले सरकारले रोकथाममा बजेट छुट्याउनुपर्ने र जनस्तरमा सचेतना अभियान चलाउनुपर्ने आवश्यकतामा जोड दिए ।