arrow

दुई छोराको हत्यापछि बाबुको विलौना - प्रहरीको अनुसन्धान फितलो हुँदा दुवै छोरा गुमाएँ [भिडियो]

प्रहरी भन्छ - कुनै कमजोरी भएको छैन, पक्राउ गरिसक्यौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
rajan-shaha-kunu.jpg

वीरगञ्ज । बाराको एक हत्या घट्नाका विषयमा प्रहरीले अनुसन्धान फितलो गरेको आरोप लागेको छ । प्रहरीले सही दिशातर्फ अनुसन्धान अगाडि नबढाएको कारण राजन साह कानुले आफ्नो कान्छो छोरासमेत गुमाउनु परेको स्थानीय समेतले बताउने गरेका छन् ।

परवानीपुर गाउँपालिका वडा नं ८ नेवतन बहुवरी घर भई हाल वीरगञ्ज-१० रानीघाटमा डेरागरी बस्दै आएका राजन साह कानुका ठूला छोरा सत्यमको मृत्युका विषयमा प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान नगरेका कारण ठूला छोरालाई विष खुवाइ हत्या गर्ने व्यक्तिहरूले नै कान्छा छोरा शिवम साह कानुसमेत हत्या गरेको आशंका गरिएको छ ।

गौतम पटेललगायतका व्यक्तिहरूले असोज १० गते बिहानै विष मिसाइएको दूध सत्यमलाई खुवाई हत्या गरेको जानकारी प्रहरी विट रानीघाटका इञ्चार्ज प्रहरी सहायक निरीक्षक लालबाबु साहलाई दिएका थिए । तर त्यस विषयमा कुनै कारवाही नभएको र त्यसको चार दिन नबित्दै सोही समूहले कान्छो छोरा शिवमलाई छुरा प्रहार गरी हत्या गरेको मृतकका पिता राजन साहको आरोप छ ।

राजनले प्रहरीले समयमा अनुसन्धान गरी गौतम, कुन्दनलगायतका व्यक्तिलाई पक्राउ गरेको भए आफ्नो कान्छाको यस्तो अवस्था नहुने बताए । उनले प्रहरीको अनुसन्धान फितलो भएको आरोप लगाए ।

असोज १० गते बिहान ६ बजे रानीघाट पुल नजिकैको एक मदिरा पसलमा गौतम पटेल, करण पटेल र कुन्दन पटेलसँगै मदिरा सेवन गर्ने क्रममा गौतम पटेलले दूधमा विष मिलाई सत्यमलाई खुवाएको स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई बताउँदासमेत प्रहरीले विष सेवन गरी आत्महत्या गरेको केस बनाई हत्यारालाई उम्किने अवसर प्रदान गरेको उनले बताए ।

सत्यमको पहिलो हत्यामा कारवाही नभएपछि त्यसबाट हौसिएकाहरूले शिवमको हत्या गर्न सफल भएको राजनको भनाइ छ ।

प्रहरी भन्छ - कुनै कमजोरी भएको छैन्, पक्राउ गरिसक्यौँ

प्रहरीविट रानीघाटका इञ्चार्ज प्रहरी सहायक निरीक्षक साहले सत्यमको मृत्युको विषयमा आफूलाई बोल्ने अधिकार नभएको र यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका इञ्चार्ज वा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासँग सम्पर्क गर्न अनुरोध गरे ।

शिवम साह कानुको हत्या भएको २४ घण्टा नबित्दै पर्सा प्रहरीले हत्यामा संलग्न पाँच जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले शिवम हत्या काण्डमा संलग्न मुख्य अभियुक्तदेखि हत्यामा सहयोग गर्ने वीरगञ्ज महानगरपालिका-२४ रामगढवा निवासी पाँचै जनालाई पक्राउ गरेको दाबी गरेको छ ।

शिवमको हत्याका मुख्य अभियुक्त रामगढवा निवासी वर्ष १९ का गौतम पटेललाई घटना भएको २० घण्टामै पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

उनले व्यक्तिगत दुश्मनी र आफ्नै समूह (ग्याङ) को वर्चस्वलाई स्थापित गर्न शिवमको हत्या भएको र सो हत्याका योजनामा सहयोग गर्ने रामगढवा निवासी २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमित पटवा (करण पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटेललाई पक्राउ गरिएको बताए ।

असोज १४ गते राति ११ः३० बजे वीरगञ्ज-१० गीता मन्दिरको पूर्वमा रहेको मुख्य सडकमा गौतमलगायतको समूहले शिवमलाई हत्या गरेपछि अनुसन्धानलाई अगाडि बढाउँदा पहिले सुभांकरको संलग्नता भेटिएको र उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा मुख्य अभियुक्तलगायतका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको उपरीक्षक पाठकको दाबी छ ।

मृतक शिवमसँग गौतमको पुरानो रिसइबी र दुवै जनाले चलाएको आआफ्नो समूह अर्थात ग्याङको वर्चस्व कायम गर्न शिवमको हत्या भएको अनुसन्धानका क्रममा भेटिएका तथ्यले पुष्टि गरेको उपरीक्षक पाठकले जानकारी दिए ।

सत्यमलाई विष खुवाई मारिएको विषयमा प्रहरीले के गरिरहेको छ भन्ने जिज्ञासा राख्दा उपरीक्षक पाठकले प्रहरीले त्यसतर्फ समेत अनुसन्धान अगाडि बढाएको बताए । सत्यमको हत्या भएको हो भने सो घटनामा संलग्नलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ