जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या छ पुग्यो
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
961
Shares
चितवन। चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेई) का कारण साउन महिनायता हालसम्म मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। जनस्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की एक महिलाको यो रोगका कारण मृत्यु भएको हो।
जिल्लामा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखा परेको छ, जसमध्ये १० महिला र सात पुरुष छन्। संक्रमितमध्ये ७ जना भरतपुरभित्रका रहेका छन्। उमेर समूहका आधारमा तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन्। मृत्यु हुनेहरूमा अधिकांश (एक ८९, एक ८१, र दुई ७० वर्षका) ज्येष्ठ नागरिक छन् भने ३९ र ४२ वर्षका दुई युवा पनि छन्।
कार्यालयका किट नियन्त्रक राम केसी का अनुसार, चिन्ताजनक पक्ष के छ भने संक्रमितमध्ये १५ जनाले खोप नलगाएको पाइएको छ, जबकि दुई जनाको खोप लगाए/नलगाएको अवस्था अस्पष्ट छ।
जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेती ले जापानीज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग भएको बताए। यो लामखुट्टे घरबाहिर बस्न रुचाउने र साँझ तथा बिहान बढी सक्रिय हुने गर्दछ।
यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्दा रोग सर्दछ। साथै, धानखेती मा समेत यसले अण्डा पारेर लार्भा बनाउने गरेको पाइएकाले जोखिम उच्च रहेको छ।