जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १० वर्षकै उच्च
३१ जनाको निधन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
1k
Shares
काठमाडौँ। यस वर्ष (सन् २०२५ मा) जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट देशभर ३१ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिएअनुसार विगत १० वर्षको तुलनामा मृत्यु हुनेको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो।
डा. गौतमले यस वर्ष १६४ जनामा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण देखिएको बताए, जबकि गत वर्ष (सन् २०२४) ८६ जनामा मात्र यो सङ्क्रमण देखिएको थियो। विगतका वर्षहरूको तथ्याङ्क हेर्दा सन् २०२४ मा २५ जना, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको निधन भएको थियो, भने सन् २०१८ देखि २०२२ सम्म कसैको पनि मृत्यु भएको थिएन।
मृत्यु हुनेमध्ये धेरैजसो खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन्। खोप लगाएकामा पनि विस्तारै खोपले काम गर्न छाडेपछि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको डा. गौतमको भनाइ छ।
यो सङ्क्रमण अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिसकेको छ र नेपालका २८ जिल्ला उच्च जोखिममा रहेका छन्। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने गर्छ। प्रदेशगत रूपमा हेर्दा यस वर्ष लुम्बिनी प्रदेशमा ११ जना सहित कोशीमा चार, मधेसमा तीन, बागमतीमा पाँच, गण्डकीमा पाँच, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा दुई गरी कुल ३१ जनाको मृत्यु भएको छ।
डा. गौतमले सङ्क्रमण बढ्नुको कारण लामखुट्टे सक्रिय भएर हो कि वा सुँगुर वा हाँसको पालनले गर्दा हो भन्ने विषयमा अध्ययन भइरहेको बताएका छन्। नेपालमा सन् १९९८ देखि पाँच वर्षमुनिका बालबालिकालाई नियमित जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आएको छ।