arrow

निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
prachanda-agni.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन् । 

प्रेस सन्टर नेपालद्वारा ललितपुरमा आयोजित सम्पादकरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, बौद्धिक जगत् तथा आमसञ्चारमाध्यमको ध्यान निर्वाचनको वातावरण तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । 

उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाई प्रतिनिधिसभामार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि समाजका सबै तह तप्कासँग अनुरोध गरे ।

देश अहिले इतिहासकै अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेको भनी चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले बदलिँदो राजनीतिक घटनाक्रमका बीच ‘जेनजी पुस्ता’को भावना र मागलाई समेत सम्बोधन गर्नेगरी मुलुकको स्वाधिनता र स्वतन्त्रताका पक्षमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने समय आएको बताए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरू, मधेस केन्द्रित राजनीतिक दलहरू जस्ता इतिहास भएका लोकतान्त्रिक राजनीतिक दलहरूबीचको राष्ट्रिय सहमतिमा निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिए ।

जेनजी पुस्ताको मागलाई समेत समेटेर नेपालको संविधान संशोधन गरी समाजमा देखिएका निराशा र असन्तुष्टि सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासन कायम गर्ने तथा मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनेतर्फ समग्र राष्ट्रको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले अहिले पनि केही राजनीतिक दलका नेतामा अहङ्कार देखिएकामा आश्चर्य प्रकट गर्दै यसअघि गरेका कमीकमजोरीलाई सच्याएर जनतामाझ जानुको विकल्प राजनीतिक पार्टीहरूसँग नरहेको बताए ।
 
जेनजी आन्दोलनको भावनालाई आत्मसात् गरी पार्टीको अध्यक्ष पदबाट संयोजकका रूपमा आफू रूपान्तरित भएको स्पष्ट गर्दै उनले आवश्यक परे संयोजकबाट पनि पछि हट्न तयार रहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ