ललितपुर । ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीले मंगलबार राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार बिकलाई पेस्तोल र रु चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जानकारी दिए ।
खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका थिए ।
“विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गरेपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान-१, नगद र मोबाइल फोन पनि बरामद भएको छ ।” विकलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान शुरू भएको उनले बताए । रासस