काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो । अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइतेसमेत भएका छन् ।
अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् ।
गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ ।
अस्पताल बन्द गर्नुपर्ने, मीनालाई न्याय दिनुपर्ने लगायतका माग राख्दै उनीहरू ढुंगा बोकेर अस्पतालमा आक्रमण गर्न पुगेका थिए । प्रहरीलाई भीड नियन्त्रण गर्न समस्या परेको छ ।
मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।