जेन–जी प्रदर्शनको मौका पारेर भागेका पाँच हजार कैदी कारागार बाहिरै, समाजमा त्रास कायमै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
1k
Shares
काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए ।
तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ बन्दी अझै फरार छन् ।
सरकारले फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत फरार कैदीलाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मीले सम्बन्धित कारागारमा बुझाइरहेका छन् ।
मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो ।
सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई÷दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै, नौवस्ता बालसुधारगृहमा झडप हुँदा पाँच र डोटी बालसुधारगृहमा एक बालबन्दीको मृत्यु भएको थियो । कारागार कार्यालयहरूले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन् । सरकारको सूचनालाई बेवास्ता गरी फरार रहेका कैदीबन्दीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।
देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागार र बालगृहमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४१ कैदी र बालबन्दी रहेका छन् ।