मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने, त्यसपछि मन्त्रिमण्डल विस्तार
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
804
Shares
जनकपुर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते शनिबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
हिजो (बुधबार) मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो। मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा रहेका छन्।
गठबन्धन दलहरूबीच मन्त्रालयहरूको सङ्ख्यागत टुङ्गो लागिसकेको भए तापनि मन्त्रालयको नाम टुङ्गो लाग्न बाँकी छ। जसअनुसार, जसपा नेपालले भौतिक विकास मन्त्रालयसहित ४ मन्त्रालय र जनमत पार्टीले अर्थ मन्त्रालयसहित ३ मन्त्रालय पाउने निश्चित भएको देखिएको छ। यसैगरी, माओवादी केन्द्रले ऊर्जा, सिँचाइ तथा खानेपानीसहित दुई मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) ले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाउने चर्चा छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि एक मन्त्रालय पाउने निश्चित भएको बताइएको छ।
मधेस प्रदेशसभामा कुल १०७ जना सदस्य रहेका छन् र सरकार गठनका लागि ५४ जना सदस्यको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री सोनलले ५७ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए। यद्यपि, विभाजित जनमतका सिंह र साहले सरकारलाई विश्वासको मत नदिएमा मुख्यमन्त्री सोनलले विश्वासको मतका लागि १/१ जना सांसद रहेका साना दलहरूसँग पनि छलफल गरिरहेको जानकारी प्राप्त भएको छ।