arrow

सुन कारोबारको बहानामा लुट्ने प्रयास असफल भएपछि सरोजको हत्या [घटनाको नालीबेली]

शव पुलमुनि गाडियो, गाडी जलाइयो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
saroj-sharma.jpg

विराटनगर । झापाको शिवशताक्षी नगरपालिका वडा नं १० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पहिलो भेट र योजना

काठमाडौँमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनील साहसँग भएको थियो । शर्माले सस्तोमा सुन पाइने र आँफैले पनि किन्ने, साथै काठमाडौँमा चिनेजानेकालाई पनि किनिदिने भन्दै कुरा गर्ने गरेका थिए । यही कुराबाट लोभिएर सुनील र उनका भान्जा २३ वर्षीय राहुल शाहले शर्मासँग भएको पैसा लुट्ने योजना तयार पारेको बताइएको छ ।

सुन देखाउने बहानामा अपहरण

गत कात्तिक ९ गते सुनीलले सरोज शर्मालाई फोन गरी भारतबाट ल्याएको सुन देखाउने बहानामा बोलाए । त्यसपछि उनीहरू अर्जुनधारा नगरपालिका वडा नं ४ अन्तर्गत दहीझोडा सामुदायिक वनतर्फ गए । प्रहरीका अनुसार यही ठाउँमा तीनैजना पुगेपछि सुन देखाउने बाहनामा विवाद भएको र त्यही बेला सुनील र राहुलले योजनाबद्ध रूपमा शर्मामाथि हमला गरेका थिए ।

हत्याको क्रूर मोड

प्रहरी अनुसन्धानअनुसार, उनीहरूले हातमा रहेको हथौडाले सरोजको टाउकोमा प्रहार गरी हत्या गरे । त्यसपछि शवलाई लुकाउनका लागि उनीहरूले शर्माकै सवारी साधन बाप्र ०१-३० च ७१९४ नम्बरको गाडीमा राखेर झापा गाउँपालिका वडा नं ५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको प्रहरीको अनुमान छ । 

शव लुकाउने र गाडी जलाउने प्रयास

हत्या लुकाउनका लागि उनीहरूले शर्माको गाडी मेचीनगर नगरपालिका वडा नं १३, निचाझोडा सिमसार क्षेत्रमा लगेर जलाएका थिए । प्रहरीले जनाएको अनुसार, उनीहरूले हत्या भएको पाँच दिनपछि अर्थात् कात्तिक १३ गते राति गाडी जलाएका थिए ।

शर्मा हराएपछि खोजतलास

कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका सरोज शर्माबारे परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजतलास शुरू भएको थियो । अनुसन्धानका क्रममा प्रहरीले कात्तिक १३ गते शर्माको गाडी जलिरहेको अवस्थामा फेला पार्यो । त्यसपछि प्रहरीले सो क्षेत्र र सम्भावित ठेगानामा खोजी विस्तार गरेको थियो । 

शव फेला र घटनाको खुलासा

अन्ततः कात्तिक १५ गते राति १ बजे बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शर्माको शव फेला पर्यो । त्यसपछि प्रहरीले शंकाको आधारमा सुनील र राहुललाई नियन्त्रणमा लियो । प्रारम्भिक सोधपुछका क्रममा दुवैले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ र थप अनुसन्धान

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, घटनामा संलग्न अर्का एक जना भारतीय नागरिक अझै फरार छन् र उनको खोजी भइरहेको छ ।

पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ