लण्डन । क्यानेडियन टेनिस खेलाडी डेनिस शापोभालोभले अम्पायरलाई बलले हानेपछि जरिवाना तिर्नुपर्ने भएको छ । डेभिस कप टेनिसका क्रममा शापोभालोभले अम्पायर अर्नद गबासलाई बलले अनुहारमा हिर्काएका थिए ।
उनको आँखामा चोट लागेको छ । आँखाको कोर्निया वा रेटिनामा कुनै गम्भीर चोट नदेखिए पनि उनको आँखा विशेषज्ञले उपचार गरेका छन् ।
१७ वर्षे शापोभालोभले खेलका क्रममा ब्रिटिश खेलाडी कायल एडमण्डसंग हार नजिक पुगेपछि झोंक पोख्ने क्रममा अम्पायरलाई बलले हानेका थिए ।
खेलबाट डिस्क्वालिफाइ हुनुअघि शापोभालोभ ६–३, ६–४ र २–१ ले पछाडि परेका थिए ।
शापोभालोभलाई सात हजार डलर जरिवानासमेत गरिएको छ । उनले पछि अम्पायरसंग माफी मागेका छन् ।