वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष (आव) को प्रथम तीन महिनामा निर्यातमा गत आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ।
प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार, चालु आवको पहिलो त्रैमासमा २६ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन्। गत आवमा सोही अवधिमा जम्मा आठ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएका थिए। यसले निर्यात व्यापारमा करिब तीन गुणाको वृद्धि देखाउँछ।
चालु आवको तीन महिनामा निर्यात भएका मुख्य वस्तुहरूमा १३ अर्ब ९८ करोड रुपैयाँ मूल्यका ६ करोड ७१ लाख ३ हजार ३०८ लिटर भटमासको प्रशोधित तेल अग्रस्थानमा छ। यस्तै, दुई अर्ब सात करोड रुपैयाँ मूल्य पर्ने २ करोड १२ लाख ४८ हजार ३८३ लिटर जुस निर्यात भएको छ। अन्य महत्त्वपूर्ण निर्यातित वस्तुहरूमा एक अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, ९७ करोड रुपैयाँ मूल्यका कपडा र ६६ करोड रुपैयाँ मूल्य पर्ने सेन्थेटिक यार्न रहेका छन्।