नयाँ दिल्ली । भारतका विकेटकिपर ब्याट्सम्यान मोहित अहलावतले क्रिकेटमा केही पनि असम्भव छैन भन्ने प्रमाणित गरेर देखाइदिएका छन् । एक दिवसीयमासमेत अहिलेसम्म सम्भव हुन नसकेको एकै इनिङमा एक खेलाडीले बनाउने तेहेरो सतक मोहितले टी–२० मै बनाएर दुनियाँलाई चकित पारेका छन् ।
नयाँ दिल्लीको ललिता पार्कमा मंगलबार भएको खेलमा मोहितले ७२ बलमा ३९ छक्का र १४ चौकाको मद्धतले ३०० रन पूरा गरेका हुन् ।
दिल्लीका तर्फबाट रणजी टिममा समेत सामेल भइसकेका २१ वर्षका मोहितले बीसौं ओभरमा ५ बलमा ५ छक्कासमेत प्रहार गरेका थिए । उनको ३०० रनको मद्धतले टिमले ४१६ रन बनाएको थियो ।
तीन रणजी ट्रफी खेलमा मोहितले केवल ५ रन बनाएका थिए । मोहितको यो इनिङले भने उनी भारतीय राष्ट्रिय टिममा पर्न सक्ने संकेत दिएको छ ।
टी–२० मा आइपीएल खेलमा वेष्ट इन्डिजका क्रिस गेलले बैंगलोरका लागि सन् २०१३ मा १७५ रन दिलाएका थिए ।