औषधि ऐनको दफा खारेज गर्न माग गर्दै व्यवसायी धर्नामा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
782
Shares
काठमाडौँ। औषधि व्यवसायीहरूले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै आज बिहान औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्।
प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका छन्। विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधि ऐन, दफा ११ लाई संशोधन गर्दा औषधि व्यवसायीहरूलाई पलायन गर्न खोजिएको आरोप लगाए। उनले उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न माग गरे।
श्रेष्ठका अनुसार, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि आयातकर्ता संघहरू मिलेर उक्त उपदफाको विरुद्ध संघर्ष समिति बनाएका छन्। सरकारले मंसिर १७ गतेसम्म पनि आफूहरूका माग पूरा नगरे कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने चेतावनी दिँदै श्रेष्ठले सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरू खोलिरहेको बताए।
उनले आज (आइतवार) दिनको १ घण्टा (बिहान ११ देखि १२ बजेसम्म सटर डाउन), सोमबार २ घण्टा गर्दै क्रमशः १६ गतेसम्म एक घण्टा बढाएर पसल बन्द गर्ने र १७ गतेदेखि माग सम्बोधन नभएमा योभन्दा कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।