काठमाडौँ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सर्वेश शर्माले देशभरको एचआईभी/एड्सको अवस्थाबारे जानकारी दिएका छन् ।
विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रियामा डा. शर्माले काठमाडौँ उपत्यकामा एड्स तथा यौन रोगसम्बन्धी औषधि सेवन गर्नेको संख्या सबैभन्दा बढी रहेको बताए ।
उनले मधेस प्रदेशमा भने एचआईभी संक्रमणको अवस्था निरन्तर वृद्धि भइरहेको उल्लेख गर्दै प्रदेशको समग्र स्वास्थ्य अवस्था नै कमजोर रहेको बताए ।
उनले यस वर्ष केन्द्रले मधेस प्रदेशलाई मुख्य फोकसमा राखेर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताए ।
एचआईभी अवस्थाका आधारमा तेस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको र सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको उनले जानकारी दिए।
कर्णाली र सुदूरपश्चिममा उपचारका लागि आवश्यक औषधि सेवन गर्ने संख्या पनि तुलनात्मक रूपमा कम रहेको उनले बताए ।
उनले भने, ‘काठमाडौँ उपत्यकामा एड्स तथा यौन रोगको औषधि सेवन गर्ने बढी छन् भने दोस्रोमा मधेसमा एचआइभीको अवस्था बढ्दो अवस्थामा छ । एचआइभीको अवस्था मात्रै नभई मधेसमा स्वास्थ्य अवस्था नै कमजोर छ । हामी यो वर्ष मधेसलाई नै मुख्य केन्द्रमा राखेर स्वास्थ्यको कार्यक्रमहरू गर्ने प्रयत्नमा छौँ । तेस्रोमा लुम्बिनी प्रदेश छ। सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ । एचआइभीको औषधि खाने कर्णाली र सुदूरपश्चिममा कम छन् ।’
विश्व एड्स दिवस-२०२५ का लागि ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौं’ भन्ने नारालाई आत्मसात गर्दै डा. शर्माले चुनौतीको बीचमा पनि प्रभावकारी प्रतिकार्य आवश्यक रहेको उल्लेख गरे ।
उनले राष्ट्रव्यापी रुपमा एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले वर्षभर सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा आगामी दिनमा सेवाहरूलाई अझै प्रभावकारी ढङ्गले गाउँ-बस्तीसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘यो वर्षको नारा अवरोध पार गरौँ, एडस् प्रतिकार्य रुपान्तरण गरौँ । यो नाराले आँफ पनि बोलिरहेको छ । कति कुरामा हामीलाई चुनौती छन् तर ती चुनौतीलाई प्रतिकार्य गर्दै एड्सविरुद्धको अभियानमा लाग्नुपर्ने छ । हामी डिसेम्बर १ मा एड्स दिवस मनाउँदै आएका छौँ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रणले वर्षभरि गरेका आफ्ना कार्य र आगामी दिनमा एड्स नियन्त्रणमा सकारात्मक तरिकाले सेवा भूईं मान्छेसम्म पुर्याउनुपर्ने छ ।’