arrow

पूर्व-पश्चिम राजमार्ग विस्तारः ११ हजार बढी रूख काटिने

सडक छेउँछाउँका रूख हटाउने काम शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
tree-highway.jpg

सर्लाही । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा करिब ११ हजार पाँच सय ७७ रुख काटिने भएको छ । 

लामो समयदेखि रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि अब बल्ल सडक विस्तारसँगै सडक छेउछाउका रुख हटाउने काम शुरू हुन लागेको हो ।

कमला-ढल्केबर-पथलैया सडक योजनाअन्तर्गत पर्ने यी जिल्लामध्ये सबैभन्दा धेरै रुख महोत्तरीमा काटिने छन्, त्यहाँ छ हजार २७ वटा रुख काटिने छन् । 

सर्लाहीमा तीन हजार छ सय ७४ र धनुषामा एक हजार आठ सय ७६ रुख काटिने छ ।

सबैभन्दा बढी साल प्रजातिका रुख पर्ने बताइएको छ ।

सर्लाही र धनुषामा रुख कटानको काम शुरू भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले त्यहाँ रुख काट्न केही दिन लाग्ने छ । 

अब आदेश प्राप्त भएपछि ठेकेदारमार्फत रुख हटाउने कार्य अघि बढाइएको छ । 

काटिएका रुख ठेकेदारले सुरक्षित रूपमा राखी सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाउनेछ र त्यसपछि वन कार्यालयले लिलामी प्रक्रिया अघि बढाउनेछ ।

रुख कटाउने अनुमति मिले पनि प्रमुख चुनौती भनेको बिजुलीका पोल हटाउने र खानेपानी पाइप स्थानान्तरण गर्ने कार्य भएको आयोजनाका प्रमुख राजेशकुमार दासले बताए । 

पोल र पाइप नहट्दा कतिपय स्थानमा रुख काट्ने र सडक विस्तार गर्ने काम अवरुद्ध भइरहेको छ ।

कमला पुलदेखि पथलैयासम्मको करिब एक सय ३० किलोमिटर सडक विस्तार तीव्र गतिमा भइरहेको छ । पूर्वी खण्ड (सर्लाही, महोत्तरी, धनुषा) र पश्चिमी खण्ड (रौतहट, बारा) छुट्टाछुट्टै कार्यालयमार्फत सञ्चालन हुँदैछ ।

दुई लेनको राजमार्गलाई बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइमा विस्तार गर्ने लक्ष्य राखिएको छ । यस परियोजनाका लागि विश्व बैंकले १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ