- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वामपन्थी नेता राधाकृष्ण मैनालीको पाँच दशक लामो राजनीतिक जीवनको अनुभवमा आधारित ‘नलेखिएको इतिहास’ पुस्तक सार्वजनिक भएको छ । विभिन्न राजनीतिक आरोह अवरोहसहित हाल एमालेमा रहनुभएका नेता मैनालीले झापा विद्रोहदेखि अहिलेसम्मका आफूसँग जोडिएका राजनीतिक घटनाक्रम समेटेका छन् ।
पुस्तकमा जेलमा जीवनका भोगाइ, राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको सरकारमा मन्त्री हुन पुग्दा महसुस भएको गल्ती, माओवादी केन्द्रमा प्रवेश र एमालेमा पुनरागमनलगायतका सवाललाई महत्व दिइएको छ । पुस्तकको समीक्षा गर्दै प्रा कृष्ण पोखरेलले विभिन्न नेता र आफूसँग जोडिएका कार्यकर्ताका राम्रा तथा नराम्रा पक्ष उद्घाटन गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो ।
विश्लेषक सुरेन्द्र केसीले कम्युनिस्ट नेताहरुले किन पटक–पटक गल्ती गर्छन् भन्नेबारेमा पुस्तकले जवाफ दिन नसकेको टिप्पणी गरे । लेखक मैनालीले आफूले जे देखेँ र भोगेँ, त्यही लेखेको जनाउँदै आत्मालोचना भइसकेका विषयमा पटक–पटक नकोट्याउन आग्रह गरे । पुस्तकको वरिष्ठ पत्रकार भैरव रिसाल र लेखक स्वयम्ले लोकार्पण गर्नुभएको हो । पुस्तक पत्रकार माधव बस्नेत र मनबहादुर बस्नेतले सम्पादन गर्नुभएको हो । रासस