राजा-महाराजाका आसेपासेले युवामाथि भ्रम फैलाउने काम गरेको प्रचण्डको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
794
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजपरिवारका आसेपासेहरूले युवा पुस्तालाई सम्मान गर्ने र अपमान गर्ने पार्टी उस्तै हुन् भन्ने प्रचार गरिरहेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित जेन-जी महोत्सव २०८२ उद्घाटन समारोहमा उनले युवा पुस्तालाई प्रेरित गर्ने र अपमान गर्ने पार्टी उस्तैउस्तै हुन् भन्ने प्रचार हिजोका राजा, महाराजा र उनका आसेपासे दलालहरूले गरिरहेको भन्दै यसलाई विचार गर्नुपर्ने बताए ।
उनले भने, ‘युवा पुस्तालाई अघि बढाउन चाहने, युवा पुस्तालाई प्रेरित गर्ने उनीहरूको भावनालाई सम्मान गर्ने पार्टी र उनीहरूको माग र भावनालाई अपमान गर्ने उस्तैउस्तै हुन् भन्ने कुरा कसले प्रचार गरिरहेको छ त्यो तपाईंहरूले विचार गर्नुभएको होला । त्यो पनि तीनै हिजोका राजा, महाराजा र उनका आसेपासे उनीहरूका दलालहरूले गरिरहेको छ, विचार गर्नुहोला ।’
यस्तै, उनले आफ्नो पार्टी जनताको आवश्यकता र चाहना अनुसार कृषिमा नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएर अघि बढेको पनि बताए ।
उनले भने, ‘यो देशमा जनताको आवश्यकता र चाहना अनुसार कृषिमा अब नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएका छौँ। उत्पादन वृद्धि गर्ने, कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने र नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको वातावरण बनाउने हामीले संकल्प पनि गरेका छौँ ।’
नेपाली कम्युनिष्ट पार्टी र त्यसको संयोजक युवाहरूको असली अभिभावक हो भन्ने कुरा बुझेर देशैभरिबाट हजारौँ मान्छेहरू पार्टीमा आएको पनि उनको भनाइ छ ।
उनले देशको राजनीति भदौ २३ र २४ को जेन-जी आन्दोलन र त्यस क्रममा घटेका घटनाहरूको वरिपरि नै घुमिरहेको भन्दै आन्दोलनले नेपाली राजनीतिमा रहेको थुप्रै कमिलाई उजागर गर्ने र राजनीतिक दल र नेताहरूलाई समिक्षा गर्ने र रुपान्तरण गर्ने अवसर प्रदान गरेको बताए ।
उनले भने, ‘अहिले देशको राजनीति झण्डै झण्डै गएको भदौ २३ र २४ को जेन-जी आन्दोलन र त्यस क्रममा घटेका घटनाहरूको वरिपरि नै घुमिरहेको छ । सबै तिर जेनजी जेनजी नै भइरहेको छ। जेन-जीले नेपाली राजनीतिमा रहेको थुप्रै कमि र सीमालाई उजागर गर्ने, हरेक राजनीतिक दल र नेताहरूलाई आफ्नैबारे समीक्षा गर्ने र रुपान्तरण गर्ने अवसर प्रदान गरेको छ ।’