मानसिक समस्याबाट गुज्रिरहेका बिरामी महँगो खर्चमा काठमाडौँ पुग्न बाध्य
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
689
Shares
गण्डकी। गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गए पनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ ।
अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ ।
मानसिक समस्याबाट गुज्रिरहेका दूरदराजका बिरामी महँगो खर्चमा काठमाडौँका अस्पतालमा पुग्न बाध्य छन् ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार गण्डकी प्रदेशमा हालसम्म मानसिक अस्पताल छैन ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरामा विशिष्टिकृत अस्पताल सरहको मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल गरे पनि त्यसले सार्थकता पाइनसकेको उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति, कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि गत वर्षदेखि छलफल हुँदै आएको थियो ।
स्वास्थ्यमन्त्री पाठकले मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यकता औँल्याए ।
उनका अनुसार गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ ।
मन्त्रालयले मानसिक रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्ने गरी मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि पहल अगाडि बढाएको थियो ।
पोखराको सिर्जनाचोकमा रहेको जिल्ला समन्वय समितिको जग्गामा उक्त केन्द्र निर्माण गर्ने गरी विभिन्न चरणमा छलफल भएको मन्त्री पाठकले बताए ।
गत वर्ष नै सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखलगायतको बैठकले केन्द्र निर्माणका लागि आवश्यक सबै तयारी र पहल अगाडि बढाउने निर्णय गरेको थियो ।
मानसिक रोगको उपचार गर्ने अस्पतालका रूपमा मात्रै नभएर समग्र मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्ने योजना बनाइएको स्वास्थ्यमन्त्री पाठकले बताए ।
अन्य अस्पतालबाट मानसिक रोगको पनि उपचार तथा परामर्श सेवा प्रदान गरिए पनि गण्डकी प्रदेशमा मानसिक रोगसम्बन्धि छुट्टै विशिष्टिकृत अस्पताल अहिलेसम्म बनेको छैन । रासस