इनरुवा, ९ पुस । सुनसरीको हरिपुर गाविस– ७ भन्टाबारीमा गएराति आगलागी हुँदा रु ४० लाख बराबरको क्षति भएको छ ।
आगलागीमा आठ परिवारको आठवटा घर जलेर पूर्णरुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको जिप्रका सुनसरीले जनाएको छ ।
चोरी तस्करी गरी ल्याएको इन्धन भण्डारण गरेर राखेको ठाउँमा सल्काएको घुरले आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आगलागीमा स्थानीयवासी मुकेश श्रेष्ठ, छोटु खत्वे, जनार्दन कामैत, सुकसेन कामैत, विनोद शर्मालगायतको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी मिकाइल आलमले जानकारी दिनुभयो ।
आगलागीमा परी घाइते भएकाहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।
आगो इनरुवा नगरपालिकाको वारुण यन्त्र, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस