दोषमुक्त भएर पारदर्शी र उत्तरदायी सहकारी अभियान अघि बढाउन चाहन्छौँ : ढकाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
691
Shares
काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयक दुईदिने साकोस शिखर गोष्ठी-२०८२ शुरू गरेको छ ।
बिहीबारदेखि शुरू भएको गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस अभियानले समग्र सहकारी क्षेत्रलाई मार्गदर्शन गर्दै आएको उल्लेख गरे ।
उनले सहकारी अभियानको इतिहास, वर्तमान र भविष्यलाई सुदृढ बनाउन साकोस शिखर गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
अध्यक्ष ढकालले सहकारी क्षेत्रप्रति देखिँदै आएको नकारात्मक धारणा र चुनौतीप्रति संकेत गर्दै भने, ‘हामी जिम्मेवार छौँ, तर सहकारी अभियानलाई धमिलो बनाइरहेको वातावरण हटाउन अझै सफल हुन सकेका छैनौँ । हामी दोषीमुक्त भई पारदर्शी र उत्तरदायी सहकारी अभियान अगाडि बढाउन चाहन्छौँ ।’
नेफ्स्कून विगत ३८ वर्षदेखि बचत तथा ऋण सहकारी अभियानमार्फत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर रूपान्तरणमा क्रियाशील रहँदै आएको केन्द्रीय निकाय हो ।
यस संस्थाले नेपालका ७६ जिल्लाबाट प्रतिनिधित्व गर्ने चार हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरूलाई समेट्दै आएको छ ।
नेफ्स्कून अन्तर्गत ५९ ओटा जिल्ला बचत तथा ऋण सहकारी संघ, चार ओटा प्रदेश बचत तथा ऋण सहकारी संघ तथा करिब ५९ लाख व्यक्तिगत सदस्यहरू आबद्ध छन् । स्थापना कालदेखि नै नेफ्स्कून विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाको सदस्य रहँदै आएको छ ।
संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा विकसित साकोस समाधानहरूको प्रवर्द्धन तथा कार्यान्वयन गर्दै बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।