arrow

निर्वाचनको दौडधुप

सानेपा, च्यासल र पेरिसडाँडापछि अब रास्वपा र राप्रपाको पालो, मन्त्रीहरूले गर्दैछन् चुनावी संवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
jagadish-kharel-08-09.jpg

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सरकारले साना तथा नयाँ राजनीतिक दलहरूसँगको संवादलाई अघि बढाएको छ। सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले आज (बुधवार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको केन्द्रीय कार्यालय अनुगमनका साथै शीर्ष नेताहरूसँग छलफल गर्दैछ।

समितिको कार्यतालिका अनुसार बिहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालय पुगेर निर्वाचनको माहोल र दलका सरोकारबारे कुराकानी हुनेछ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित यस समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन सरकार इमानदारीका साथ लागेको सन्देश दिन दलहरूकै कार्यालय पुग्ने नीति लिइएको बताए। "निर्वाचनको वातावरणका लागि सरकारले चरणबद्ध वार्तालाई निरन्तरता दिएको छ," मन्त्री खरेलले भने, "यो दलहरूका लागि सकारात्मक दबाब पनि हो र सरकार चुनाव गराउन कति गम्भीर छ भन्ने प्रमाण पनि हो।"

यसअघि मङ्गलवार मात्रै उक्त टोलीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय पुगेर अनुगमन र वार्ता गरेको थियो। भदौको 'जेन–जी' आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको अवस्था बुझ्न र दलहरूलाई चुनावी प्रक्रियामा ढुक्कसँग सहभागी हुने वातावरण बनाउन सरकारले यो पहल सुरु गरेको हो।

प्रमुख दलहरूबीच शीतल निवासमा भएको उच्चस्तरीय समझदारी र सरकारी वार्ता टोलीको यो सक्रियताले फागुन २१ को निर्वाचन हुने सुनिश्चिततालाई थप बलियो बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ