arrow

पर्पला फागुन तेस्रो साता सार्वजनिक हुँदै

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
parpale.jpeg
काठमाडौं ।  युवाहरूको जीवन भोगाइ, सोच, खोज, चिन्तन र प्रेम विषयमा लेखिएको युवा लेखक मिलन सङ्ग्रौलाको पहिलो उपन्यास पर्पला यही फागुन तेस्रो साता सार्वजनिक हुनेभएको छ । नेपाली साहित्यमा युवा केन्द्रित विषयवस्तुमा कलम चलाइरहेका सङ्ग्रौलाले युवायुवतीको कलेज जीवन, त्यस बखत युवायुवतीमा देखिने प्रेमाकर्षण र त्यसबाट तत्कालीन जीवनमा पर्ने प्रभाव र पारिवारिक तथा सामाजिक मूल्यमान्यतालाई उपन्यासमा उतारेका छन् ।
 
मोफसलबाट काठमाडौँ आई आधुनिक समाजसँग पौठेजोरी खेल्दै प्रेममा पर्ने बबिन, स्कूलकी सहपाठीसँगको आकर्षणमा जीवन आहूति दिन पछि नपर्ने दिव्य र रहस्यमयी पात्रा पर्पलाबीचको त्रिकोणात्मक प्रेमलाई उपन्यासको विषय बनाइएको छ । सरल, सरस र शिष्ट भाषामा एक युवाले युवाहरूका निम्ति लेखेको पुस्तक हो, पर्पला । लेखक सङ्ग्रौला भन्छन्, “उपन्यासमा युवाबीचको प्रेम, यथार्थ र सामाजिक मनोविज्ञानलाई मिहीनरुपमा प्रयोग गर्ने कोसिस गरेको छु । पाठकहरूले पक्कै पनि माया गर्नु हुनेछ ।” सङ्ग्रौलाले तीन वर्ष लगाएर लेखेको उपन्यास पर्पलालाई बुक–हिल पब्लिकेसनले बजारमा ल्याउन लागेको हो ।
 
बुक–हिलका प्रबन्धक पवन आचार्य भन्छन्, “पर्पलाको विषयवस्तु र चित्ताकर्षक लेखाइ–शैलीका कारण यो उपन्यास युवा मात्रै होइन, जुनसुकै उमेरवयका पाठकले पनि मन पराउनुहुनेछ ।” उपन्यासको आवरणमा नायिका स्वस्तिमा खड्कालाई पर्पलाको रुपमा प्रस्तुत गरिएको छ । आजै प्रेस वक्तव्यसँगै पुस्तकको आवरण र बुक–हिलको अफिसियल युट्युव च्यानलमार्फत् श्रव्यदृश्य प्रचार सामग्री औपचारिकरुपमा सार्वजनिक गरिएको छ, जसमा स्वराङ्कन चर्चित रेडियो प्रस्तोता अच्यूत घिमिरे ‘बुलबुल’ले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ