वीरगञ्जमा धार्मिक द्वेष फैलाउनेलाई कानूनी कारबाहीको चेतावनी, संयम रहन प्रशासनको आग्रह
सामाजिक सञ्जालमा अफवाह फैलाउनेको खाता सूक्ष्म निगरानीमा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
747
Shares
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम राख्न सबैमा विशेष आह्वान गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार एक सार्वजनिक अपिल जारी गर्दै धार्मिक तथा सामाजिक द्वेष फैलाउने खालका गतिविधि नगर्न सचेत गराएका हुन्।
धनुषाको मस्जिद तोडफोडको विषयलाई लिएर वीरगञ्जमा भएको प्रदर्शन र तनावपूर्ण स्थितिपछि प्रशासनले सुरक्षा र सद्भावका लागि यो कदम चालेको हो। प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउनेहरूमाथि कडा निगरानी भइरहेको बताएका छन्।
सामाजिक सञ्जालमा सूक्ष्म निगरानी प्रशासनले जारी गरेको अपिलमा भनिएको छ, “एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सिर्जना गरी राष्ट्रिय एकतामा आँच पुर्याउने वा झुटा अफवाह फैलाई समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरूको फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ।”
प्रजिअ दाहालले यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिँदै आम नागरिकलाई संयमित र सजग रहन अनुरोध गरेका छन्। प्रशासनले कुनै पनि जात, धर्म वा समुदायको भावनामा ठेस पुग्ने गरी सामग्री पोस्ट नगर्न र समाजमा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ।