निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री र राप्रपा अध्यक्षबीच भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
570
Shares
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज बिहान भेटवार्ता भएको छ। ललितपुरको लुभुलामाटारस्थित अध्यक्ष लिङ्देनकै निवासमा भएको यस भेटमा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।
भेटका क्रममा सञ्चारमन्त्री खरेलले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले गर्नुपर्ने तयारीहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए। उनले निर्वाचनको वातावरण निर्माणका लागि सरकारले सबै राजनीतिक दलहरूसँग सहकार्य गर्न चाहेको बताए। सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टी निर्वाचनका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको र यसलाई सफल पार्न रचनात्मक सहयोग गर्ने आश्वासन दिए।
मन्त्री खरेलले सरकारका प्रवक्ताको हैसियतमा निर्वाचनको सुनिश्चितता र राजनीतिक सहमतिका लागि यसअघि पनि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट तीव्र पारेका छन्। भदौमा भएको 'जेनजी विद्रोह' पछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गराउने मुख्य कार्यभारसहित काम गरिरहेको छ।