जनचेतनाका लागि बाथरोग जागरण अभियान शुरू, दुई प्राध्यापक सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
685
Shares
काठमाडौँ । नेशनल बाथरोग सेन्टर तथा बद्री तीर्थ आर्थराइटिस समाजले बाथरोग जागरण अभियान २०८२ को शुरूआत गरेको छ ।
सोही अवसरमा दुई जेष्ठ प्राध्यापकहरूलाई सम्मानित पनि गरेको छ । सम्मानित व्यक्तित्वलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि कामनपा वडा नं. ८ का अध्यक्ष आशामान संगतले भौतिकशास्त्रका प्राध्यापक जयश्री मल्ल अमात्य र गणित विषयका प्राध्यापक धनकुमारी थापालाई अवार्ड प्रदान गरे । अवार्डका साथ नगद राशि पनि प्रदान गरिएको थियो ।
बाथरोग सेन्टरले ‘स्वस्थ र सुन्दर जीवनका लागि सुमधुर संगीत’ मूल नारासहित सांगीतिक संस्था कुटुम्बसँग सहकार्य गर्दै बाथरोग जागरण अभियानको सुरुवात गरेको जनाइएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि आशामान संगतले आयोजक संस्थाले संगीतको माध्यमबाट स्वास्थ्य सचेतनाको जागरण गरेर आफैंमा प्रशंसनीय र राम्रो काम भएकोे बताउँदै ८ नम्बर वडामा पनि अभियानको स्वागत गर्न आफू आतुर रहेको बताएका थिए । उनले यो अभियानलाई सर्वत्र फैलाउनु पर्नेमा जोड दिए ।
सेन्टरका अध्यक्ष बाथरोग विशेषज्ञ डा. विनीत बैद्यले बाथरोगबारे आम नागरिकमा जानकारी पुर्याउनु पर्नेमा जोड दिँदै रोगको लक्षण र पहिचानबारे जागरण अभियानमा जानकारी गराइँदै आएको बताए ।
उनले आफूहरुले यो कामलाई सर्वत्र फैलाउन चाहेको बताउँदै त्यस कारण पनि संगीत र स्वास्थ्यलाई जोडेको बताए ।
बाथरोगका विशेषज्ञ डा. सुदीप कर्माचार्यले बाथरोगले शरीरका धेरै भागमा असर गर्नसक्ने भएकोले यसतर्फ सचेत हुन आग्रह गरे । उनले बाथरोगको समयमा नै उपचार गराउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जेष्ठ प्राध्यापक समाजका महासचिव प्रा. सिद्धि कोइराला, सम्मानित प्रा. जयश्री मल्ल, प्रा. धनकुमारी थापाले सेन्टरले गरेको कामको प्रसंसा गरेका थिए ।
कार्यक्रमकी सभापति एवम् समाजकी अध्यक्ष बद्री लक्ष्मी बैद्यले बाथरोग सम्बन्धि जागरण अभियानले सबैलाई सहयोग पुर्याउने आशा गरेको बताउँदै बाथरोग सेन्टरको स्थापनाका विषयमा आफ्नो धारणा राखेकी थिइन् ।
उक्त अवसरमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बाथरोगको जनचेतना अभिवृद्धिका लागि आफूहरूले हरेक वर्ष माघ महिनामा विशेष कार्यक्रम गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा अभियानलाई सहयोग गर्नेहरूलाई कदरपत्र प्रदान गरियो ।