कोरोला, किमाथांकासहितका नाकाहरू खुलाउनका लागि गृहकार्य [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
790
Shares
काठमाडौँ । सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ ।
सरकारले कोरोला, किमाथांकासहितका नाकाहरू खुलाउनका लागि गृहकार्य थालेको हो ।
तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकाहरूमा संरचना तयार गरेर भन्सार बिन्दुहरू विस्तार गर्ने काम भइरहेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । उत्तरी नाका रसुवा र तातोपानी नाकाहरू अहिलेसम्म रहँदै आएका थिए ।
रसुवा नाकामा गत असार २६ गतेको बाढीले बन्द भएको थियो । तातोपानीमा पनि पहिरो गएर बाटो अबरुद्ध हुँदा बर्खायाममा उक्त नाका संचालनमा आउन सकेको थिए ।
वैकल्पिक रुपमा कोरोला नाका संचालनमा ल्याइएको थियो । त्यहाँ कुनै क्वारेनटाइनहरू थिएन तर पनि सो नाकामा आसिकुडा सिस्टम लागू गराएर भन्सारबाट सामान जाँचपास हुने व्यवस्था मिलाइएको थियो ।
त्यतिबेला जुत्ताचप्पलदेखि विद्युतीय गाडीहरू ठूलो परिणाममा कोरोला नाका हुँदै व्यवसायीहरूले भित्राएका थिए ।
सोही नाका हुँदै २ हजार भन्दा बढि इभी गाडीहरू जाँचपास गरेर व्यवसायीहरूले भित्राएका थिए । एक सय १७ ओटा कन्टेनरबाट १९ करोडको निकासी भएको थियो ।
दशैँ लक्षित समानहरू ल्याउन महत्वपूर्ण बनेको कोरोला नाकामा थप सुविधासम्पन्न पूर्वाधारहरू बनाएर संचालनमा ल्याउन लागिएको हो ।
तातोपानी र रसुवागढी नाकाको भर हुन छाडेपछि कोरला, किमाथांकासहितमा संरचनाहरू बनाएर पूर्ण रुपमा संचालनमा ल्याउने तयारी भएको महानिर्देशक भण्डारी बताए ।
महानिर्देशक भण्डारीले भने, ‘कोरोला नाकामा भौतिक संरचना बनाउन हामीले बजेट नै छुट्टाएका थियौँ । हामीले पूर्वाधार आफैँ बनाउन खोजेको चाइनीजहरूले हाम्रो जस्तो संरचना छ, हामीले नै त्यस्तै बनाइदिन्छौँ भनेपछि कोरोला नाकामा पूर्वाधार बनाउन छुट्टाएको रकम हामीले फिर्ता गरेका छौँ । त्यहाँ सुविधासम्पन्न संरचना बन्दैछ । अन्यत्र नाकामा पनि चाइनीजहरूले सडक संरचना बनेपछि संचालनमा ल्याउन सहयोग गछौँ भन्नुभएको छ । हामीले आफ्नो संरचना विस्तार गर्ने कुराहरूमा प्रयास भइरहेको छ । किमाथांकामा अहिले पनि एक दिनको बाटो हिड्नुपर्छ । बाटो पुर्याउन बाँकी छ । ओलाङचुङ गोलामा जेनजीहरूले नै नाका खोल्नुपर्यो भनिरहेका छन् । त्यहाँ बाटो बन्दैछ ।’
उनका अनुसार उत्तरी नाका संचालन गर्न भुगालले अप्ठ्यारो केही पारिरहेपनि पूर्वाधार निर्माणका काम चलिरहेको छ ।
महानिर्देशक भण्डारीका अनुसार जनावरी १ देखि रसुवाको नाका सञ्चालनमा आएको छ । अहिले पनि बाटोहरू वान वे छन्, खुलाउने प्रयास भइरहेको छ । सडक विभागसँग समन्वय भइरहेको छ । तातोपानी पनि संचालनमा आइरहेको छ । ओलाङचुङगोल, किमाथांकालगायतका नाकाहरू खुलाउने प्रयास भइरहेको छ ।
चीनतर्फ सडक पूर्वाधारहरू बनिसकेका छन् र नेपालतर्फ त्यस्ता पूर्वाधार बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
अहिले यी नाकामा नायव सुब्बा सरहका कर्मचारीहरू खटाएर केही सहजीकरण भइरहेको छ। जस्तो अहिले ओलाङचुगोलामा बाटो पुग्ने क्रममा छ, त्यहाँ पुल हाल्नुपर्ने अवस्था छ । बाटो पुगेर पुल भइसकेपछि नाका सञ्चालनमा आउनेछ ।