टिकट खोसिएपछि बूढाको विद्रोह, महेन्द्र शाहीसँग भिड्ने
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
1k
Shares
काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्रबहादुर शाही विरुद्ध सोही पार्टीका केन्द्रीय सदस्य जीवन बुढाले बागी उम्मेदवारी दर्ता गराएका छन्। माघ ६ गते (मङ्गलबार) कालिकोटस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर बुढाले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।
राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका जीवन बुढा यसपटक कालिकोटबाट टिकटका मुख्य दाबेदार मानिएका थिए। तर, मनोनयन दर्ताको अन्तिम समयमा पार्टीले पुनः महेन्द्रबहादुर शाहीलाई नै आधिकारिक उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका बुढाले 'विद्रोह' गर्दै बागी उम्मेदवारी दिएका हुन्। २०७० सालको संविधान सभादेखि निरन्तर अवसर पाउँदै आएका शाहीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निकट भएकै आधारमा पटक-पटक टिकट दिएर अन्य योग्य नेताहरूलाई पाखा पारिएको बुढाको आरोप छ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुढाले २० वर्षदेखि एउटै व्यक्तिले अवसर ओगटेर बस्ने प्रवृत्ति र पार्टीभित्रको 'निरंकुशता' विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए। कालिकोटको राजनीतिमा यो विद्रोहले ठुलो हलचल पैदा गरेको छ। यसै क्षेत्रबाट नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीभित्रको यो आन्तरिक कलह र बागी उम्मेदवारीका कारण सत्ता पक्षीय उम्मेदवार महेन्द्रबहादुर शाहीलाई निकै चुनौती थपिएको छ। कालिकोटमा एमालेबाट नगेन्द्र शाही र कांग्रेसका तर्फबाट हर्षबहादुर बम पनि बलियो प्रतिस्पर्धामा छन्। माओवादी (नेकपा) भित्रको यो फुटले विपक्षी दलहरू एमाले र कांग्रेसलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने राजनीतिक विश्लेषकहरूको आँकलन छ।