दाङका तीन क्षेत्रमा ६२ उम्मेदवार, शङ्कर पोखरेल र किरणकिशोरबीच रोचक भिडन्त
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
994
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि दाङका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा कुल ६२ जनाले उम्मेदवारी दर्ता गरेका छन्, जसमा ४३ जना विभिन्न राजनीतिक दलका र १९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारहरूको योग्यतामाथि उजुरी दिन सकिने समय निर्धारण गरिएको छ।
दाङ निर्वाचन क्षेत्र नं. १
यस क्षेत्रमा कुल १४ जनाको उम्मेदवारी परेको छ। यहाँ नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी र नेकपा (एमाले) बाट रेवतीरमण शर्मा चुनावी मैदानमा हुनुहुन्छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट मेटमणी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट देवराज पाठकले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन कार्यालयले बताएको छ। पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएपछि यस क्षेत्रको प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ।
दाङ निर्वाचन क्षेत्र नं. २
दाङको यो क्षेत्र 'हेभिवेट' भिडन्तका कारण निकै चर्चामा छ। यहाँ एमालेका महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका पुराना नेता किरणकिशोर घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। घिमिरे पहिलोपटक आम निर्वाचन लड्दै हुनुहुन्छ। यस क्षेत्रमा २३ जनाले उम्मेदवारी दिएका छन्, जसमा रास्वपाका बिपिनकुमार आचार्य, नेकपाका निर्मल आचार्य र स्वतन्त्र उम्मेदवारहरूको लामो सूची रहेको निर्वाचन कार्यालयले बताएको छ।
दाङ निर्वाचन क्षेत्र नं. ३
सबैभन्दा बढी २५ जना उम्मेदवार रहेको यस क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी र एमालेका घनश्याम पाण्डेयबीच मुख्य टक्कर हुने देखिएको छ। गिरी यसअघिको निर्वाचनमा विजयी हुनुभएको थियो भने पाण्डेय तुलसीपुरका पूर्व मेयर हुनुहुन्छ। यस क्षेत्रमा रास्वपाबाट कमल सुवेदी, नेकपाबाट धनबहादुर मास्की र राप्रपाबाट दामोदर भण्डारीले पनि चुनौती पेश गरेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।
जिल्लाभरका उम्मेदवारहरूले विकास, रोजगारी र सुकुम्बासी समस्या समाधान जस्ता एजेन्डा बोकेर मतदाताको घरदैलोमा जान थालेका छन्। सहायक निर्वाचन अधिकृत टीका केसीका अनुसार उम्मेदवारहरूको मनोनयन दर्तासँगै जिल्लामा चुनावी सुरक्षा र आचारसंहिता पालनामा कडाइ गरिएको छ। आज उजुरी परेका उम्मेदवारहरूका सम्बन्धमा छानबिन गरी भोलि अन्तिम निर्णय लिइने आयोगले बताएको छ।