ट्रम्पको 'शान्ति बोर्ड' मा इजरायल सहमत: राष्ट्रसङ्घलाई प्रतिस्थापन गर्ने सङ्केतले विश्व राजनीतिमा हलचल
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
1.9k
Shares
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ‘शान्ति बोर्ड’ मा सामेल हुन सहमत भएका छन्। बोर्डको कार्यकारी समितिको संरचना र टर्कीको सहभागितालाई लिएर सुरुमा असहमति जनाएको इजरायल अन्ततः ट्रम्पको महत्वाकाङ्क्षी योजनामा सहभागी हुन राजी भएको हो।
ट्रम्पको अध्यक्षतामा रहेको यो बोर्डले सुरुमा गाजा युद्धविरामको अनुगमन गर्ने भनिए पनि अहिले यसलाई विश्वव्यापी द्वन्द्व समाधान गर्ने एक शक्तिशाली संयन्त्रका रूपमा विकास गर्न खोजिएको छ।
यसअघि नेतान्याहुको कार्यालयले क्षेत्रीय प्रतिद्वन्द्वी टर्कीलाई इजरायलसँग समन्वय नगरी कार्यकारी समितिमा राखिएको भन्दै आपत्ति जनाएको थियो। इजरायलका अतिदक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले समेत गाजाको भविष्यमा इजरायलको मात्र एकतर्फी भूमिका हुनुपर्ने भन्दै बोर्डको आलोचना गरेका थिए।
हालसम्म यस बोर्डमा संयुक्त अरब इमिरेट्स, मोरक्को, भियतनाम, हङ्गेरी र अर्जेन्टिना जस्ता देशहरू सामेल भइसकेका छन् भने बेलायत, रुस र युरोपेली सङ्घले निमन्त्रणा पाए पनि आधिकारिक जवाफ दिएका छैनन्।
राष्ट्रपति ट्रम्पले यो बोर्डले भविष्यमा संयुक्त राष्ट्रसङ्घलाई प्रतिस्थापन गर्न सक्ने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय जगतमा नयाँ बहस सुरु भएको छ। ट्रम्पले राष्ट्रसङ्घले आफ्नो क्षमताअनुसार काम गर्न नसकेको टिप्पणी गरेपछि फ्रान्स लगायतका देशहरूले नयाँ सङ्गठन बनाएर राष्ट्रसङ्घलाई विस्थापित गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।
बोर्डको कार्यकारी समितिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, जारेड कुशनर, पूर्वप्रधानमन्त्री टोनी ब्लेयर र विश्व बैंकका अध्यक्ष अजय बङ्गा जस्ता उच्चस्तरीय व्यक्तित्वहरू रहेका छन्। ह्वाइट हाउसले गाजाको पुनर्निर्माण, हमासको निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा बल तैनाथीको निगरानीका लागि छुट्टै कार्यकारी बोर्डको समेत घोषणा गरेको छ।