निर्वाचनको मुखमा विदेशिनेको ताँती: छ महिनामै झन्डै छ लाख नेपालीले छाडे देश
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
764
Shares
काठमाडौँ । मुलुकमा निर्वाचनको सरगर्मी बढिरहेका बेला रोजगारीको खोजीमा विदेशिने नेपालीको सङ्ख्यामा भने उल्लेख्य वृद्धि भएको छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएका छन्।
विभागको विवरणअनुसार यो अवधिमा ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत र ६४ हजार २ सय ६२ जना व्यक्तिगत रूपमा विदेशिएका छन्। यस्तै, १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने जीटुजी (G2G) प्रक्रियामार्फत इजरायल, दक्षिण कोरिया र बेलायत जानेको सङ्ख्या ४ हजार ८ सय ६६ रहेको छ। विभागका अनुसार यस अवधिमा ५ लाख १४ हजार ३ सय ५० पुरुष र ७६ हजार ३ सय ६८ महिला वैदेशिक रोजगारीमा गएका छन्।
६ महिनामै ठगीका ५ हजार ७ सय उजुरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्यासँगै ठगीका घटनाहरू पनि डरलाग्दो गरी बढेका छन्। विभागका अनुसार चालु आवको ६ महिनामा मात्रै वैदेशिक रोजगारसँग सम्बन्धित ५ हजार ७ सय ६६ वटा उजुरी दर्ता भएका छन्। यो सङ्ख्या गत आर्थिक वर्ष २०८१/८२ को पूरा १२ महिनामा परेका करिब ५ हजार उजुरीभन्दा पनि बढी हो।
दर्ता भएका उजुरीमध्ये ९०.१५ प्रतिशत व्यक्तिगत ठगीसँग सम्बन्धित छन् भने बाँकी ९.८५ प्रतिशत म्यानपावर कम्पनीविरुद्ध रहेका छन्। विभागका अनुसार मुद्दा अनुसन्धान शाखामा २ हजार ५ सय ६१, प्रहरी शाखामा २ हजार ६ सय ३७ र उद्धार तथा राहत शाखामा ५ सय ६८ वटा उजुरी परेका छन्। सामाजिक सञ्जालमा आउने आकर्षक तर अनधिकृत विज्ञापन र युरोप जाने प्रलोभनका कारण नेपालीहरू बढी ठगिने गरेको विभागको निष्कर्ष छ।