काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन सामान्य नभई असाधारण परिस्थितिमा सम्पन्न हुन लागेको बताएका छन्। निर्वाचन विशेष कार्यक्रम तथा वृहत भेलालाई सम्बोधन गर्दै उनले देश गम्भीर संकटको घडीमा प्रवेश गरेको अवस्थामा यो निर्वाचन अगाडि बढेको उल्लेख गरे।
उनले यो निर्वाचन कुनै नियमित वा साधारण प्रक्रिया नभई असाधारण परिस्थितिमा आकस्मिक रूपमा आइपरेको भन्दै यसलाई हल्का रूपमा नलिन आग्रह गरे। प्रचण्डका अनुसार जेनजी आन्दोलन र २४ भदौको घटनापछि देश जुन संकटमा फसेको छ, त्यसबाट बाहिर निकाल्ने एउटा महत्वपूर्ण प्रक्रियाका रूपमा यो निर्वाचन आएको हो।
अन्तरिम सरकारले दुर्घटनाग्रस्त नेपाललाई बचाउने प्रयास स्वरूप निर्वाचनको बाटो रोजेको र यसमा आफूहरूको समेत सहजीकरण रहेको उनले बताए। प्रचण्डले निर्वाचन प्रक्रियालाई सफल बनाउन राष्ट्रमा नयाँ शक्ति र नयाँ एकताको आवश्यकता महसुस गरिएको प्रस्ट पारे।
सबै प्रकारका प्रतिक्रियावादी शक्ति तथा वैदेशिक चलखेल र षड्यन्त्रलाई परास्त गर्न नयाँ पहल आवश्यक ठानेर नै 'नेपाली कम्युनिष्ट पार्टी' निर्माणको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो। उनले यस अभियानमा सहभागी हुने दलहरूको संख्या अहिले २३ पुगिसकेको जानकारी समेत दिए।
उनले सम्बोधनका क्रममा देशलाई अस्थिरताबाट जोगाउन नयाँ ध्रुवीकरण अनिवार्य भएको बताए। २४ भदौको घटनापछि देखिएको राजनीतिक शून्यता र अन्योल चिर्न निर्वाचन नै एकमात्र विकल्प भएको उनको तर्क छ। प्रचण्डले नयाँ एकतामार्फत चुनावी मैदानमा उत्रिएर वैदेशिक षड्यन्त्रलाई विफल तुल्याउने दाबी गरे। निर्वाचनको माध्यमबाट मुलुकलाई सही दिशा दिने प्रयासमा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।