arrow

संखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

कूटनीतिज्ञ डा. कार्कीदेखि हिमाल आरोही मिङ्मासम्मको भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
sankhuwashaba-bhidanta.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि संखुवासभामा औपचारिक अभियान सुरु नभए पनि उम्मेदवारहरूले घरदैलो र भेटघाटलाई निकै तीव्र पारेका छन्। यस पटक संखुवासभाको चुनावी मैदान निकै रोचक देखिएको छ, जहाँ नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ।

निर्वाचनमा १५ दल र एक स्वतन्त्र गरी १६ उम्मेदवार मैदानमा भए पनि मुख्य गरी एमालेका डा. अर्जुन कार्की, कांग्रेसका दीपनकुमार श्रेष्ठ, रास्वपाका मिङ्मा शेर्पा र नेकपाकी सरिता खड्का चर्चाको केन्द्रमा छन्। विशेष गरी एमाले र कांग्रेसका पुराना हस्तीहरू यस पटक चुनावी दौडमा नरहेकाले जिल्लामा नयाँ अनुहारहरूको उदय र प्रतिस्पर्धा भिन्न प्रकृतिको हुने देखिएको छ।

एमालेका उम्मेदवार डा. अर्जुन कार्की अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका कूटनीतिज्ञ र विकास चिन्तक हुन्। संखुवासभाकै माटोमा जन्मे-हुर्केका उनले अमेरिकाका लागि राजदूतका रूपमा सेवा गरिसकेका छन् भने तीन दशकभन्दा बढी समय गरिबी निवारण र सामाजिक न्यायको क्षेत्रमा बिताएका छन्।

उनी आफूले अन्तर्राष्ट्रिय मञ्चमा आर्जन गरेको अनुभव अब आफ्नै जन्मभूमिको विकासमा लगाउन चाहेको बताउँछन्। अर्कातिर, नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठ विद्यार्थी आन्दोलनबाट आएका नेता हुन्। नेविसंघको जिल्ला अध्यक्षदेखि कांग्रेसको केन्द्रीय सदस्यसम्म बनेका उनी स्थानीय सामाजिक काममा सक्रिय रहेकाले जनताले आफूलाई रोज्ने विश्वास व्यक्त गर्छन्। उनी भ्रष्टाचारमुक्त समाज र सुशासनलाई आफ्नो मुख्य एजेन्डा मान्छन्।

चुनावी मैदानमा रहेकी महिला उम्मेदवार सरिता खड्काको पृष्ठभूमि पनि निकै सङ्घर्षपूर्ण छ। शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा होमिएकी उनी प्रदेशसभा सदस्य भइसकेकी अनुभवी नेतृ हुन्। नेकपाको केन्द्रीय सदस्य रहेकी खड्काले संखुवासभाको प्राकृतिक स्रोतको सदुपयोग गरी गरिबी घटाउने र सुशासन कायम गर्ने दाबी गरेकी छन्।

त्यस्तै, विश्वप्रसिद्ध पर्वतारोही मिङ्मा शेर्पाले रास्वपाबाट उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धालाई झन् रोचक बनाएका छन्। ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखर चढेर कीर्तिमान रचेका शेर्पा पर्यटन उद्यमी पनि हुन्। उनी राजनीतिमा पहिलो पटक होमिएका हुन् र जनताले परिवर्तन चाहेकाले आफू सुशासनको मुद्दा बोकेर मैदानमा आएको बताउँछन्।

करिब एक लाख १९ हजार मतदाता रहेको संखुवासभामा यस पटक मतदाताको रोजाइ कता जान्छ भन्ने कुराले धेरैको ध्यान खिचेको छ। विगतका निर्वाचनहरूमा कांग्रेसका दीपक खड्का र एमालेका राजेन्द्र गौतमबीच पालैपालो जित-हारको प्रतिस्पर्धा हुने गरेको भए पनि यस पटक दुवै नेता मैदान बाहिर छन्।

१०९ मतदान स्थल र १६४ मतदान केन्द्र रहेको यस जिल्लामा पर्यटन प्रवर्द्धन, कृषिमा लगानी र भौतिक पूर्वाधारका मुद्दाहरू उम्मेदवारहरूका साझा एजेन्डा बनेका छन्। कूटनीतिक अनुभव बोकेका डा. कार्कीदेखि हिमालका हिरो मिङ्मा शेर्पासम्मका उम्मेदवारहरूले संखुवासभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता जनाउँदै गर्दा स्थानीय बासिन्दा भने कसलाई जिताउँदा जिल्लाको मुहार फेरिन्छ भन्ने गम्भीर बहसमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ