arrow

हामी भन्दा नयाँ कोही छैनन् : प्रचण्ड [भिडियो]

सोसल मिडियाको चर्चालाई प्रचण्डले भने 'होहल्ला'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
prachandasss.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अचेल नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई केवल 'होहल्ला' को संज्ञा दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र उत्पीडित वर्गको हक-अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरे। 

विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत 'नयाँ' भनेर प्रचार गरिनेहरू वास्तवमा दलाल पुँजीपति र बिचौलियाहरूको इसारामा चल्ने सबैभन्दा पुराना तत्वहरू भएको टिप्पणी गरे। दाहालका अनुसार विचार र एजेन्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्छ र जसले राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्छ, त्यही नै वास्तविक नयाँ शक्ति हो।

उनले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने काम आफ्नो पार्टीले मात्र गरेको जिकिर गर्दै कार्यकर्ताहरूलाई घर-घर र टोल-टोलमा पुगेर यो वास्तविकता जनतालाई बुझाउन निर्देशन दिएका छन्। "जसले परिवर्तनका लागि लडाइँ लड्यो र गणतन्त्र ल्यायो, त्यो पुरानो हुने अनि दलालहरूको गुणगान गाउनेहरू नयाँ हुने?" भन्दै उनले प्रश्न गरे। उनले अहिले देश संकटमा रहेको उल्लेख गर्दै तथाकथित नयाँ भन्नेहरूकै कारण यो स्थिति आएको आरोप समेत लगाए। परिवर्तनको आधारमा बसेर परिवर्तनकै वाहकहरूलाई गाली गर्नेहरू कहिल्यै नयाँ हुन नसक्ने उनको तर्क थियो।

उनले सामाजिक सञ्जालको होहल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्दै इतिहास र बलिदानको कदर गर्नुपर्नेमा जोड दिए। उनले आफ्नो पार्टीले जनताको अधिकारका लागि गरेको संघर्षलाई कम आँक्न नमिल्ने बताउँदै आगामी दिनमा पनि जनताकै मुद्दा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए। देशको सार्वभौमिकता र जनताको अधिकार रक्षाका लागि कम्युनिष्ट शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ