सत्र हजार किशोरीलाई लगाइयो पाठेघर क्यान्सर रोग विरुद्ध खोप
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
788
Shares
जनकपुरधाम। धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर रोगका विरुद्ध एचपिभी खोप लगाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा जनकपुरधाममा आयोजित एचपीभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यालय प्रमुख उमेश यादवले निःशुल्क रुपमा दिइने सो खोप जनकपुरसहित धनुषामा १६ हजार नौ सय किशोरीलाई लगाइएको बताए ।
सो खोप १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लगाइएको उल्लेख गर्दै उनले सो खोप शतप्रतिशत किशोरीलाई दिने सरकारको लक्ष्य रहेकाले आइतबारदेखि कक्षा ६ का किशोरीलाई खोप दिने तयारी भइरहेको बताए ।
खोपका सम्बन्धमा जानकारी दिनका लागि विद्यालयका शिक्षकहरुलाई समेत अभिमुखीकरण गरिएको प्रमुख यादवले बताए ।
नेपालमा बर्सेनि दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको उनीद्वारा प्रस्तुत विवरणमा उल्लेख छ ।
पटकपटक भएर २० वर्षसम्म सङ्क्रमण रही रह्यो भने क्यान्सर रोग लाग्ने सम्भावना अत्यधिक रहेको छ ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मदरशाका किशोरीलाई समेत उक्त खोप लगाउन चेतना जागृत गराउनुपर्ने विचार व्यक्त गरे ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले यो खोप अभियान कार्य अत्यन्त महत्वपूर्ण रहेकाले विद्यालय बाहिरका किशोरीहरूलाई समेटेर शतप्रतिशतलाई खोप लगाउनुपर्ने सुझाव दिए ।