बुटवल जेसीजमा नयाँ नेतृत्व,अध्यक्षमा यदुमणि पोख्रेल निर्वाचित
नारायण वली,
प्रकाशित २०८२ माघ २५ आइतबार
3.6k
Shares
लुम्बिनी। बुटवल जेसीजको नयाँ नेतृत्वमा यदुमणि पोख्रेल निर्वाचित भएका छन् । जेसीजको ५२ औं अधिवेशनले बर्ष २०२६ का लागि ५३ औं अध्यक्षरुपको नयाँ नेतृत्व चयन गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निवर्तमान अध्यक्ष मोहन न्यौपानेले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई पदभार हस्तान्तरण गरेपछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष पोख्रेलले आफ्नो कार्यकाललाई जेसीजमा लागेका पदाधिकारी तथा सदस्यहरुलाई अनुकरणीय एवं उदाहरणीय जेसीज वर्ष बनाउने उल्लेख गर्दै निवर्तमान नेतृत्वले थालेका तर अधूरा हुन पुगेका एजेण्डा भएमा थप नयाँ योजनाहरुसँगै अगाडि बढाएर सफल बनाउने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले जेसीजले युवाहरुमा नेतृत्व तथा व्यक्तित्व विकास गराउने भएकाले राजनीतिको नेतृत्वसम्म पुग्न सकिने धारणा राखेका थिए । वक्ताहरुले विधिको शासनको अभ्यास गरिरहेका युवाहरु राजनीतिमा आउँदा राजनीति र शासन पद्धतीमा समेत विधिको शासनको अभ्यास हुन सक्ने बताउँदै देशको विकास र समाज रुपान्तरणका लागि जेसीजमा लागेका युवाहरुको खाँचो पर्ने औल्याएका थिए ।
बुटवल जेसीजमा यो वर्षका लागि अध्यक्षमा पोख्रेलसहित कार्यकारी उपाध्यक्षमा मनोजलाल श्रेष्ठ र विकास पन्थी, उपाध्यक्षमा सम्राट कुँवर, सरोज पोख्रेल, सहसचिवमा हरिप्रसाद घिमिरे, सहकोषाध्यक्षमा प्रशान्त भट्टराई निर्वाचित भएका छन् । यस्तै अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था अनुसार महासचिवमा कमल प्रसाद शर्मा, कानूनी सल्लाहकारमा माधव पराजुली, कोषाध्यक्षमा रमेश न्यौपाने र सीई टु प्रेसिडेन्टमा विनोद पोख्रेललाई मनोनित गरेका छन् ।
को हुन् यदुमणि ? गुल्मीको आँगनदेखि जेसीजको शिखरसम्मः प्रकृतिको कोखमा साँस्कृतिक धरोहरले चुमेको पहाडी जिल्ला गुल्मीको आँगनमा हुर्किएर बुटवलको व्यावसायिक मैदानमा स्थापित एक युवा हुन्, यदुमणि पोख्रेल । २०४४ साल भदौ १७ गते धुर्कोट गाउँपालिका वडा न-१ नयाँगाउँमा जन्मिएका उनले गाउँकै नयाँगाउँ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि बुटवल झरे ।
हाल बुटवल उपमहानगरपालिका वडा न-११ निवासी पोख्रेल लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा व्यवस्थापन शंकायमा अध्ययन गरेका उनी बुटवलमा सर्जिकल व्यवसायमा जम्दै आएका छन् । शुरुमा टोयटा शोरुममा मार्केटिङ र सर्जिकल हाउसमा व्यवस्थापन (एकाउन्टेन्ट) को रुपमा काम गर्दा व्यावसायिक अनुशासन र सेवाभावको प्रभावले बुटवलको ज्योति पथमा आफ्नै सर्जिकल हाउस/नवज्योति ट्रेड खोलेर स्थापित हुन पुगेका छन् ।
विधिको शासन सिद्धान्तः मेहनती, अध्ययनशील र सरल स्वभावका पोख्रेल विधिको शासनका अनुयायी हुन् । २०६३ सालमा नवदुर्गा टोल विकास संस्थाको संस्थापक सचिव, साइनो सहकारीको संस्थापक सचिव, लायन्स क्ल अफ बुटवल मणिमुकुन्द युथको अध्यक्ष हुँदै लायन्स डिष्ट्रिक-३२५ पीको डिष्ट्रिक चिफ एडभाइजर, रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल रुपन्देही शाखाको महासचिव, धुर्काेट-रुपन्देही सम्पर्क समाजको सदस्य, नेपाली काँग्रेस धुर्काेट-रुपन्देही सम्पर्क समितिको सभापति र नेपाली काँग्रेस गुल्मी-रुपन्देही सम्पर्क समितिको कार्यसमिति सदस्य जस्ता भूमिकामा रहेर सक्रिय कार्यकाल निभाएका पोख्रेल शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने सिद्धान्तले गर्दा अहिले बुटवल जेसीजको कमाण्डमा पुग्न सफल भएका छन् ।