सामाजिक सञ्जालको प्रचार र धरातलको अवस्था फरक छ: प्रचण्ड
स्टन्ट र हल्लाको भ्रम चिरौँ, निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
1.8k
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालैका दिनमा देखिएका ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको उल्लेख गरे।
उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यस्ता प्रचारको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। दाहालले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पारे। उनका अनुसार जहाँ पहिला त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको छ।
नयाँ स्थानहरूमा भ्रम दिन सजिलो हुने भए पनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको दाहालको भनाइ छ। उनले काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रमबाट मुक्त भइसकेको दाबी गरे।
जहाँ जनताले अझै कुरा बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको भन्दै उनले कम्युनिष्ट कार्यकर्ताहरूलाई ती भ्रमहरूलाई तर्कद्वारा चिर्न आग्रह गरे। राजनीतिक सङ्कटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको उनको तर्क छ। आज सिङ्गो राष्ट्र यही विचारमा सहमत भएको भन्दै उनले यसलाई पार्टीको बुझाइको जितका रूपमा व्याख्या गरे।
संयोजक दाहालले आगामी २४–२५ दिन निर्वाचनका लागि निकै महत्त्वपूर्ण रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई पूर्ण मेहेनतका साथ चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्देशन दिए। उनले पार्टीलाई देशको एक नम्बर शक्ति बनाउने सङ्कल्पका साथ अघि बढ्न आह्वान गर्दै कसैले पनि आफूहरूलाई रोक्न नसक्ने दाबी गरे। चुनौतीपूर्ण अवसरलाई सदुपयोग गर्दै देश जोगाउने र राजनीतिलाई सहजीकरण गर्ने भूमिकामा आफ्नो पार्टी सधैँ अगाडि रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे। कतिपय शक्तिहरू निर्वाचन सार्ने पक्षमा भए पनि अब नयाँ जनादेशमा जानुको विकल्प नरहेको उनको निष्कर्ष छ।