व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
2k
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताएका छन्। मङ्गलवार पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले विगतमा राजनीतिक दलहरूबाट भएका कमी–कमजोरीको समीक्षा गर्दै अब जनताको जीवनस्तर बदल्ने गरी काम गर्ने स्पष्ट पारे।
राजनीतिक व्यवस्था बदलिए पनि जनताको अवस्था नफेरिएको स्वीकार गर्दै उनले विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटकहरू मिलेर बनेको आफ्नो पार्टीले २०८२ सालमै हुन सक्ने निर्वाचनका लागि आफूलाई पूर्ण रूपमा तयार पारेको जानकारी दिए। संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणमा विगतका सरकारहरू उदार पुँजीवादकै वरिपरि अल्झिएको टिप्पणी गर्दै उनले अब ‘नेपाली विशेषताको समाजवाद’ को बाटो तय गरिने बताए।
दाहालले सुशासनलाई मुख्य प्राथमिकता दिँदै सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न ‘उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ र भ्रष्टाचार नियन्त्रणका लागि ‘शक्तिशाली लोकपाल’ गठन गर्ने प्रस्ताव गरेका छन्। प्रशासनलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाउँदै ५ वर्षभित्र २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने लक्ष्य रहेको उनले सुनाए।
‘जेन–जी’ आन्दोलनले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनको १० वर्ष पूरा भएको सन्दर्भमा यसको पुनरावलोकन र परिमार्जन गरिने उनले बताए। शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार गरी राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मानलाई केन्द्रमा राख्नु नै आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको उनको भनाइ छ।
आफूहरूले पुरानो पार्टी भत्काएर सबैभन्दा नयाँ पार्टीका रूपमा नेपाली कम्युनिष्ट पार्टी बनाएको दाबी गर्दै दाहालले यो प्रतिबद्धता पत्रमा नेपाललाई नयाँ बनाएरै छाड्ने दृढता व्यक्त भएको उल्लेख गरे। आर्थिक रूपान्तरणका लागि आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने र बहुआयामिक गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य उनले प्रस्तुत गरे।
साथै प्रतिवर्ष १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र १० हजार मेगावाट थप विद्युत् उत्पादन गरी अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउने संकल्प समेत उनले दोहोर्याए। यो प्रतिबद्धता पत्रले राष्ट्रलाई एकताबद्ध गर्ने र चुनौतीहरूको सामना गर्ने महत्त्वाकाङ्क्षी मार्गचित्र कोरेको उनले बताए।