काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच महत्त्वपूर्ण भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल 'एक्स' मार्फत यस कुटनीतिक भेटघाटको पुष्टि गरेका हुन्।
भेटका क्रममा दुवै पक्षले आफ्ना राष्ट्र प्रमुखहरूबीच भएको सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले सन् २०२६ लाई आपसी सम्मान, शान्तिपूर्ण सह-अस्तित्व र सहकार्यको वर्षका रूपमा अगाडि बढाउने साझा लक्ष्य तय गरेका छन्। विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको यो संवादले बदलिँदो वैश्विक राजनीतिमा सकारात्मक सन्देश दिएको छ।
यो भेटवार्ता यस्तो समयमा भएको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको प्रत्यक्ष संवादका लागि नयाँ खाका सार्वजनिक गरेका छन्।
ट्रम्पले आगामी अप्रिल महिनामा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने र यसै वर्षको अन्त्यतिर सीले अमेरिकाको भ्रमण गर्ने अपेक्षा गरिएको घोषणा गरेलगत्तै दुई देशका विदेशमन्त्रीहरू संवादमा जुटेका हुन्। ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै अप्रिलको भेटवार्ताका लागि आफू उत्साहित रहेको सङ्केत समेत दिएका छन्।
दुई देशका राष्ट्र प्रमुखहरूबीचको यो घनिष्ठता यसअघि नै सुरु भइसकेको देखिन्छ। गत फेब्रुअरी ४ मा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच करिब ९० मिनेट लामो टेलिफोन वार्ता भएको थियो।
सोही वार्ताको जगमा उभिएर अहिले विदेशमन्त्री स्तरमा छलफल अघि बढेको हो। रुबियो र वाङ्ग यी बीचको यो संवादले आगामी अप्रिलमा हुने उच्चस्तरीय शिखर वार्ताका लागि आवश्यक तयारी र एजेन्डाहरू तय गर्ने विश्वास गरिएको छ।