arrow

सडक नहुँदा सास्ती: दुई घण्टा हिँडेर भोट हाल्न जान्छन् छुमरुङका मतदाता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
election-2082.jpg

काठमाडौँ । कास्की जिल्लाका कुल १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल अझै पनि सडक पहुँचबाट टाढा रहेको पाइएको छ। तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं. ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११, छुमरुङस्थित मतदानस्थलमा हालसम्म सडक नपुगेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

उक्त मतदानस्थल पुग्न सडक पहुँच भएको अन्तिम बिन्दु 'झिनु' बाट करिब दुई घण्टा पैदल हिँड्नुपर्ने उनले बताए। सडक सञ्जालले नछोएको छुमरुङस्थित धौलाश्री मावि मतदानस्थलमा ७८५ जना मतदाता रहेका छन्।

स्थानीयवासी एवं छुमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार यस क्षेत्रका मतदाताहरूले सास्ती खेप्नुपर्ने बाध्यता छ। घुर्जुङबाट साढे दुई घण्टा, किम्रुङ खोलाबाट दुई घण्टा र सिनुवाबाट दुई घण्टा हिँडेर मात्र मतदानस्थल पुग्न सकिन्छ। अशक्त मतदाताहरूले त मतदानका लागि घोडाको समेत प्रयोग गर्नुपर्ने अवस्था रहेको गुरुङले जानकारी दिए।

जिल्लाका कुल मतदानस्थलमध्ये १३६ वटा विद्यालयमा, १४ वटा वडा कार्यालयमा र ३ वटा सामुदायिक भवनमा रहेका छन्। हाल प्रशासनले मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षा व्यवस्थाबारे स्थलगत अनुगमन गरिरहेको छ। माछापुच्छ्रे र रुपा गाउँपालिकाको अनुगमन सकिएको र अन्नपूर्ण तथा पोखरा महानगरका केही स्थानको अनुगमन बाँकी रहेको सहायक प्रजिअ लम्सालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ