arrow

अब भोजभतेरमा समेत मदिरा पिउन नपार्इने !

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
health-ministry.jpeg
काठमाडौं। सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने नीति लिएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ । 
 
सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्ण रुपमा निषेध गर्ने नीतिमा छ ।साथै बिहान ५ बजे देखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ । 
मन्त्रीपरिषद्बाट सोमबार पारित भएको नीतिमा फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तिमा १ लिटर भन्दा बढी खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भनिएको छ । नीतिमा भएको व्यवस्था कार्यान्वयन भए नभएको अनुगमन र कारबाहीका लागि स्थानीयस्तर देखि नै छुट्टै संजाल र संरचना निर्माण गरिने भएको छ । 
 
एक्काईस वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरिद, बिक्री र सेवन गर्न निषेध गर्ने व्यवस्था मिलाईनुका साथै त्यसको सूचना टाँस गर्ने लगायतका प्रवर्धनात्मक व्यवस्था मिलाईने मन्त्रालयले जनाएको छ । 
 
सरकारको यो नीति कार्यान्वयन गर्न चाडै नै कानुनी व्यवस्था गरिने स्वास्थ्य मन्त्री गगनकुमार थापाका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिनुभयो । खासगरी मुटु सम्बन्धी रोग, कलेजो एवं बिभिन्न प्रकारका क्यान्सर रोगका मूल कारण पनि मदिराको हानिकारक सेवन नै भएकाले यसलाई नियन्त्रण गर्न मदिरा नीति ल्याइएको उनले बताए। 
 
मदिराको हानिकारक सेवनका कारणले सरुवा रोगहरु जस्तै एच.आइ.भी. र क्षयरोग लाग्ने, सडक दुर्घटना, घरेलु हिंसा र आत्महत्या बढ्ने गरेको पनि पाईन्छ । मदिराको हानिकारक सेवनको कारण विश्वमा ४ प्रतिशत युवाको ज्यान जाने गर्दछ भने मदिराको सेवन मृत्युको आठौं कारकतत्वको रुपमा विश्व स्वास्थ्य संगठनले देखाएको छ । 
 
मदिराको हानिकारक सेवनलाई न्यूनिकरण गर्न राष्ट्रिय मदिरा रहित दिवस मनाइने, मदिराको बोतलको कम्तीमा ७५ भागमा मदिरासेवनको कारणले भएको सिरोसिस भएको कलेजो वा मुटुरोगको चित्र र “मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ” भन्ने जस्ता चेतावनीमूलक स्वास्थ्यसन्देश, मदिरा उपभोग गर्ने अन्तिम मिति र मदिराको गुणस्तर उल्लेख गर्नु पर्ने व्यवस्था गरिने नीतिमा उल्लेख छ ।   
 
९ बुँदे नीतिका थप मुख्य बुँदा तथा उपबुदाँहरु निम्नानुसार छन् 
नेपाल सरकार, स्थानीय निकाय र विकासका साझेदारहरुबाट हुने कार्यक्रममा मदिरा नियन्त्रणको बिषयलाई समावेश गर्न प्रोत्साहन गरिनेछ । 
छापा तथा बिद्युत्तीय संचार माध्यम, इन्टरनेट, ईमेल र हार्डिङबोर्ड लगाएत कुनै पनि संचार माध्यम वा तरीकाबाट मदिराको उत्पादन, बिक्री वितरण र सेवन प्रबद्र्धन र बजारीकरण गर्ने सम्बन्धी सूचना वा चित्र वा सन्देश वा सामग्री वा विज्ञापन वा प्रायोजन  वा समाचार प्रकाशन र प्रसारण कार्यलाई निषेध गरिनेछ । 
चलचित्र, टेलिफिल्म, नाटक जस्ता कुनै पनि मनोरञ्जनात्मक वा समाचारमूलक वा प्रायोजनात्मक श्रब्यदृष्य कार्यक्रममा कलाकारको प्रयोग वा व्राण्ड वा लोगो वा अन्य परिचय झल्कने गरी  मदिराको प्रबद्र्धन हुनेगरी अभिनय वा बिज्ञापन वा प्रचार प्रसार गर्ने कार्य निषेध गरिनेछ। 
सार्वजानिक क्षेत्र एवं कार्यस्थल नजिक मदिरा उत्पादन र बिक्री, बितरण गर्न नपाउने व्यवस्था मिलाईनेछ । 
मदिराको उत्पादन, विक्रि, वितरण गर्न अनिवार्य लाईसेन्स लिनुपर्ने व्यवस्था मिलाईने छ । 
सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरञ्जन स्थलहरु, निश्चित धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरु र नेपाल सरकारले आवश्यक ठानेका अन्य स्थानहरुलाई मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिनेछ । 
कुनै पनि मदिरा उत्पादन कम्पनीले उत्पादन गरेको गुणस्तरहीन मदिरा सेवनबाट उपभोक्ताको स्वास्थ्यमा गम्भिर समस्या आएको र मृत्यु भएको प्रमाणित भएमा कुनै पनि मदिरा उत्पादकको उत्पादन र विक्रीवितरणमा बन्देज लगाउनुका अतिरिक्त क्षतिपुर्ति समेत भराईने व्यवस्था मिलाईनेछ । 
घरेलु मदिरा उत्पादन तथा बिक्री बितरणलाई निरुत्साहित गर्न बैकल्पिक रोजगार वा आयमूलक कार्यक्रमहरु संचालन गरिनेछ ।  
मदिरा उत्पादन, बिक्री, बितरण र उपभोग सम्बन्धी बिद्यमान कानून तथा अन्तराष्ट्रिय प्रतिबद्धताको समेत पूनराबलोकन गरी बिद्यमान कानून परिमार्जन र एकीकृत गरी मदिरा नियमन र नियन्त्रण गर्ने कानून निर्माण गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ