सुर्खेत । चुनाव नजिकिएसँगै राजनीतिक दलका कार्यकर्ता, समर्थक र उम्मेद्वारसहितका नेताहरू गाउँमा बाक्लै पस्न थालेका छन् । गाउँमा नेताहरू खाली आएका छैनन् उनीहरूले गाउँको विकासका बग्रेल्ती सपनाहरू पनि बोकेर आएका छन् र आश्वासनहरू बाँडिरहेका छन् ।
उम्मेद्वारका ती सपनाहरू मतदाताहरूले पत्याइरहेका छैनन्। कालिकोटको नरहरीनाथ-३ का ७८ बर्षीय षडानन्द उपाध्याय भन्छन्, ‘गाउँमा भोट माग्दै आएका नेताहरूले पञ्चायतकालमै बाँडिएका सपनाहरू अहिले पनि बाँडिरहेका छन् ।’
चुनाव सकिएपछि गाउँमा नफर्किएका नजिकैका नेताहरुले गाउँमै बसेको भन्दै उनले भने, ‘समय बदलियो, धेरै पटक भयो, गाउँकै नेताले चुनाव जितेर मन्त्री पनि भए तर न त गाउँको विकास भयो न त उनले बाँडेका आश्वासन पूरा भए । फेरी उही विकासका सपना देखाएर गाउँमा नेता आए।’
बहुदल आएपछि ०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कालिकोटमा नेपाली कांग्रेसका उम्मेद्वार तिलकप्रसाद न्यौपानेले चुनाव जिते ।
उनले त्यतिबेला मत माग्दै कालिकोटको बाटोघाटो बनाउने, कुलो बनाउने र शैक्षिक विकासका लागि आफूले विभिन्न कार्यक्रम ल्याउने बताएको स्मरण गर्दै उपाध्यायले भने, ‘आज पनि त्यस्तै नारा लिएर उम्मेद्वारहरू गाउँमा भोट मागिरहेका छन् । अब कसरी पत्याउनु ?’ नेताले बाँडेका सपनाहरू अहिलै पनि पूरा नभएको उनको दुखेसो छ ।
नरहरीनाथ गाउँपालिका-६ मा स्थानीय घर भएका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले २०६४ सालको संविधानसभा निर्वाचनमा पनि गाउँमा विकासको नारा बोकेर भोट मागे ।
उतिबेला उनले चुनाव जिते कालिकोटको पलातामा रेल कुदाउने र कोटवाडा विमानस्थल एक वर्षभित्रै निर्माण सम्पन्न गरी जहाज उडाउने सपना बाँडेका थिए ।
त्यतिबेला सडक सञ्जालमा नजोडिएको कालिकोटको पलातामा रेल कुदाउने आश्वासनले सपना बाँडेका विश्वकर्माले चुनाव जितेर मन्त्री पनि भए ।
जनताको मतबाट चुनाव जितेर प्रकाण्ड मन्त्री त भए उनको कार्यकालमा न त पलातामा रेल कुद्यो न त सुनथराली विमानस्थलमा जहाज उड्यो ।
२०६४ मा चुनाव जितेका उनै प्रकाण्ड १८ वर्षपछि फेरी उस्तै सपना बाँड्दै कालिकोटमा मतदाताको घरदैलोमा चुनाव प्रचारमा जुटेका छन् ।
कर्णाली नदीमा बनाएको कर्णाली करिडोर जोड्ने पुल र कर्णाली करिडोर आफ्नै पहलमा निर्माण भएको भन्दै अन्य दलहरू ‘लफङगा’ भएको भन्दै जनतालाई फेरी आश्वासन बाँडिरहेका छन् ।
२०६४ को संविधान सभा निर्वाचननयता कालिकोटबाट लगातार तत्कालिन माओवादी केन्द्रले चुनाव जित्दै आएको छ । यो बीचमा माओवादीबाट महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री र कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री पनि बने ।
मओवादी नेता नवीन विश्वकर्मा महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बने तर जनताका समस्या ज्यूँकात्यूँ रहेको स्थानीय बताउँछन् ।
नेताहरुले चुनावको बेला भोट माग्न मतदाता आकर्षण गर्न थुप्रै विकासका सपना बाँडे पनि पूरा नभएको कालिकोटका यूवा पूर्णराज बिष्ट बताउँछन् ।
‘भाषणमा गरिबी अन्त्य, रोजगारी सिर्जना, सडक-स्वास्थ्य सुधारका प्रतिबद्धता हरेक चुनावमा दोहोरिन्छन्’ उनले भने, ‘तर चुनाव जितेर गइसकेपछि न त सांसद गाउँ फर्केर आउछन् न त कर्णालीको विकास हुन्छ ।’
यो समस्या कालिकोटको मात्रै होइन । कर्णालीका अधिकांश जिल्लाका उम्मेद्वारहरूले कर्णाली ‘सुनको डल्लो’ भएको र यसलाई कस्तो बनाउने भन्ने असल कालिगढ चाहिएको भन्दै जनतालाई आश्वासन त दिन्छन् तर दिएका आश्वासन कहिल्यै पुरा नगरेको स्थानीयको गुनासो छ ।
साहित्यकार कृष्णराज धमला भन्छन्, ‘कर्णालीको भौगोलिक विकटता र यहाँको गरिबी चुनावी एजेन्डा बन्ने तर दीर्घकालीन नीति नबन्ने समस्या पूरानै हो । भावनात्मक भाषणले मत तानिन्छ, तर कार्यान्वयनमा निरन्तरता हुँदैन ।’
विकट कालिकोटमा मात्रै होइन, कर्णालीका अन्य जिल्ला भन्दा सुगम ठानिएको प्रदेशको राजधानी रहेको सुर्खेतको समस्या पनि उस्तै छ ।
सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाका गाउँले उम्मेद्वारले निर्वाचनैपिच्छे गाउँ विकासको वाचा गरे पनि कुनै चुनावपछि बाचा भुल्दै गएको उनीहरूको गुनासो छ ।
रेक्चा गाउँमा समस्या पुरानै हो। हरेक चुनावमा खानेपानी समस्याको लागि सबै उम्मेद्वारले प्रतिबद्धता जनाउँछन् तर समस्या अहिले पनि उस्तै छ ।
खानेपानीकै अभावमा १० वर्षको अवधिमा यहाँका ५० प्रतिशत स्थानीय अन्यत्र बसाइँ सरिसकेका छन् ।
निर्वाचनको समयमा गाउँको विकास गर्छौँ भनेर आश्वासन दिए पनि कुनै उम्मेद्वारले वाचा पूरा नगरेको चौकुनेका स्थानीयबासी तपेन्द्र बुढाक्षेत्रीले बताए ।
‘गाउँमा खानेपानी, सडक, विद्युत् ल्याउँछौँ भनेर सबै पार्टीका उम्मेद्वारले मत मागे । जनताले पत्याएर मत दियौँ पनि । तर अहिलेसम्म कुनै काम भएन’ उनले भने ।
सुर्खेतको निर्वाचन क्षेत्र नं २ बाट एमालेका नवराज रावत, नेपाली कांग्रेसबाट स्वर्गीय तप्तबहादुर बिष्ट, हृदयराम थानी संघीय मन्त्री बने ।
एमालेका यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री छन्। माओवादी केन्द्रका बिन्दमान बिष्ट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बने पनि चौकुनेबासीको दैनिकीमा भने कुनै सुधार नआएको स्थानीयको भनाइ छ ।
जाजरकोट जिल्लाबाट चुनाव जितेर पटकपटक शक्तिशाली मन्त्रालयको नेतृत्व गरेका जाजरकोटका शक्तिबहादुर बस्नेत चौथो पटक जाजरकोटबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार छन् ।
उनले हरेक चुनावमा आफ्नो नारा बनाएको साँघुतरा-सिर्केस्थित नलगाड नदीको झुलुङगे फूलमर्मत अहिल्यै पनि जीर्ण छ ।
२५ वर्षअघि निर्माण गरिएको झोलुङ्गे पुल मर्मत गर्ने, नलगाड जलविद्युत् आयोजना, जाजरकोट-जुम्ला सडकलगायतका गौरवका आयोजना अघि बढाउने उनको दुई दशक अघि देखिकै चुनावी नारा अहिले पनि देखिएकोछ ।
पछिल्लो दुई दशक यता कर्णाली समृद्धिको नारा बोकर नेपाली कांग्रेस निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्का, कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा एमालेका सचिव यामलाल कँडेल, नवराज रावत, नेपाली कम्युनिष्ट पार्टीका जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, गोमा कुँवर र नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा र नविन विश्वकर्मालगायतका नेताहरू पटक-पटक मन्त्री बनेका छन् ।
संघीयता पछि चार जना कर्णाली प्रदेशका मुख्यमन्त्री र दर्जनौँ मन्त्रीहरू बनी सक्दा पनि कर्णालीका समस्या समाधान नभएको स्थानीयको गुनासो छ ।
चुनावको बेला नेताहरूको भाषणमा कर्णालीको गरिबी अन्त्य, रोजगारी सिर्जना, सडक-स्वास्थ्य सुधारका प्रतिबद्धता दोहोरिए पनि ति कहिल्यै पूरा गर्न नेताहरू उदासिन देखिन्छन् ।
प्रदेश र संघीय बजेटमा कर्णालीका लागि सडक, पुल, स्वास्थ्य संस्था र कृषि कार्यक्रमहरू घोषणा भए पनि धेरै योजना अधुरै छन् ।
कर्णालीको विकासका लागि चुनावी नारा होइन दीर्घकालीन विकास योजना बनाई लागू गर्नुमा स्थानीयको भनाइ छ ।